वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ शुरू

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

हरिबोधिनी एकादशीको अवसर पारेर बूढानीलकण्ठस्थित वेद विद्याश्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ।

महायज्ञको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री एवं नेपाली का·्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सभ्यताको पाठ सिकाउन गुरुकुलीय शिक्षा पद्धतिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

समाजमा सुसंस्कार फैल्याउनसमेत प्राचीनकालदेखि गुरुकुलले योगदान गर्दै आएको उहाँको भनाइ छ। पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द मूल कर्ता रहनुभएको महायज्ञ कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा बूढानीलकण्ठ नारायणस्थान मठका स्वामी निगमानन्द, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष कल्पना मल्ल ठकुरी, उपाध्यक्ष ध्रुव केसी, गुरुकुलका प्राचार्य प्रकाश रुपाखेती लगायतले गुरुकुल सञ्चालनका लागि महायज्ञ गरिएकाले मन, वचन र कर्मले सहयोग गर्न आह्वान गर्नुभयो।

महायज्ञमा पण्डित कपिलदेव सुवेदीले श्रीमद्भागवत पाठ पारायण एवं कथा वाचन गर्नुहुनेछ। कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठमा भक्तजनको विशेष भीड लाग्छ।

यस अवसरमा नारायणस्थानमा मेला समेत आयोजना गरिएको मठले जनाएको छ। मेला कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म अर्थात् कात्तिक २२ गतेदेखि २६ गतेसम्म चल्ने जनाइएको छ।