डा. प्रेमराज ढुंगेल
जिन्दगीको रेलमार्गमा हरेक दिन दौडिरहेका लाखौँ रेलगाडीहरू, तिनमा हरेक दिन यात्रा गरिरहेका करोडौँ मानिसहरू अनि ती करोडौँ मानिसहरूको सुख र दुःखका कथाहरू। यदि अहिले सुख छ र दुःख कहिल्यै आउने नै छैन भन्ने कुरालाई मान्ने हो भने सायद यसरी सोच्नु नै गलत हुन्छ होला।
जाँतो हो यो संसार। त्यसमा पिँधिइरहेका छन् मानिस। दिन–रात अनि सुख–दुःखको चक्करमा फसेर पाएको अनमोल जीवनलाई खेर फालिरहेका छन्। जबकि मानिसले यसलाई याद गर्नुपर्छ– ‘यो समय पनि जानेछ।’ अहिले समय आएको छ तर जानेछ ! यदि सुख छ भने त एकदमै राम्रो कुरा हो तर दुःख आउनेछ।
किनकि, आज यदि सुख छ भने दुःख अवश्य आउनेछ र दुःख छ भने सुख पनि अवश्य आउनेछ। एउटा कथा छ, एकजना साधु (फिरन्ता जोगी) र सेठ (धनाढ्य व्यक्ति) को। साधु एकदमै जिज्ञासु स्वभावका व्यक्ति थिए। उनी ठाउँ–ठाउँमा घुमेर जीवनको ज्ञानलाई ग्रहण गर्न चाहन्थे।
एकदिन उनी घुम्दाघुम्दै एउटा गाउँमा पुगे। त्यहाँ पुगेर उनले एकजना मानिससँग साधे– ‘म एकरात कुनै ठाउँमा बसेर आराम गर्न चाहन्छु र भोक पनि लागेको छ। के कतै म बस्न सक्ने ठाउँ होला ?’
साधुको कुरा सुनेर त्यो मानिसले एकजना सेठका बारेमा बताउँदै भन्यो– ‘सेठ एकदमै राम्रा मान्छे छन्। उनले तपाईंलाई पक्कै मद्दत गर्लान्।’त्यो मानिसको कुरालाई स्वीकार गरेर साधु सेठको घरतिर लागे। त्यहाँ ती सेठले तिनको खूब आदर–सत्कार गरे।
खानाका लागि एकदमै राम्रो प्रबन्ध मिलाए। ती साधुको आतिथ्यका लागि जे–जति उनले गर्न सक्थे, त्यो गरे। तिनको अतिथि सत्कारदेखि साधु असाध्यै खुसी भए अनि बिहान त्यहाँबाट निस्कने बेलामा ती सेठलाई आशीर्वाद दिँदै भने, ‘तपाईंलाई यसरी मान–सम्मान कायम भइरहोस् !’उनको कुरा सुनेर सेठले भने, ‘यो समय पनि जानेछ।’
यो कुरा सुनेर साधु सोच्न थाले, आखिर यिनले यसरी किन भने ? जबकि उनले त तिनलाई आशीर्वाद दिएका थिए– उनलाई यसरी नै मान–सम्मान प्राप्त भइरहोस्। अनि ती साधु त्यहाँबाट हिँडे।
धेरै वर्ष बित्यो ⁄ ती साधु फेरि त्यो गाउँमा आए। त्यहाँ उनले मानिसहरूसँग ती सेठका बारेमा फेरि सोधे। मानिसहरूले उनलाई भने उनीसँग अब केही पनि बचेको छैन। उनी अर्कै गाउँमा नोकरी गर्छन्। साधु त्यो गाउँमा गए।
तिनलाई देखेर आश्चर्यमा परे ⁄ किनकि, अब ती पहिलाका सेठ थिएनन् ⁄ ती एकदमै गरिब भएका रहेछन्। साधुलाई देख्नासाथ तिनले उनलाई चिनिहाले। साधुको आतिथ्यका लागि जे–जति उनले गर्न सक्थे, त्यो गरे। साधुले त्यहाँबाट हिँड्ने बेलामा आशीर्वाद दिए, ‘तपाईंको सुखको दिन फेरि फर्कियोस् ! ’
यो सुनेर त्यतिखेर गरिब रहेका सेठले भने– ‘यो समय पनि जानेछ।’यसपटक फेरि साधु सोचमा परे, उनले यस्तो किन भने ? केही समयपछि फेरि साधु फर्केर त्यहाँ आए। त्यो गाउँमा फेरि गए, जहाँ गरिब बनेका सेठले काम गर्ने गर्थे।
त्यहाँ गएपछि उनलाई थाहा भयो कि तिनले अब त्यहाँ नोकरी गर्न छोडिसकेका रहेछन्।
यस बेला त उनी धनी भइसकेका रहेछन् ⁄ उनको जे–जति पनि पहिला थियो त्यसलाई फेरि किनेछन्। साधुले सेठकहाँ गएर सोध्छन्– ‘तपाईं मलाई यो कुरा बताउनुहोस्, जब–जब मैले आशीर्वाद दिएँ तपाईंले यही भन्नुभयो– यो समय पनि जानेछ, यस्तो किन भन्नुभएको ?’
सेठले उनलाई भने– ‘जतिखेर म धनी थिएँ, मलाई आशीर्वाद दिनुभयो म धनी नै रहूँ तर म धनी भइरहन सकिन। मलाई थाहा थियो ‘यो समय पनि जानेछ।’ अनि जब म गरिब भएँ, तपाईंले मलाई सम्झाउँदै आशीर्वाद दिनुभयो मेरो सबै चीज फिर्ता होओस् भनेर।
त्यतिखेर पनि मलाई थाहा थियो ‘यो समय पनि जानेछ।’ अब त मेरो उमेर पनि ढल्किसक्यो। केवल यत्ति भन्छु, ‘यो समय पनि जानेछ।’केही समय बितेपछि साधुलाई थाहा भयो कि सेठजी त मरेछन्।
उनी तिनको चिहान स्थलमा पूmल चढाउनका लागि गए। त्यहाँ पुगेर साधुले देख्छन्, तिनको चिहानमा लेखिएको रहेछ– ‘यो समय पनि जानेछ।’ साधु बसेर सोच्न थाले– आखिर यी सेठजी हरेकपटक ‘यो समय पनि जानेछ’ भनेर किन भन्थे ? सोच्दै–सोच्दै उनी त्यहाँबाट निस्के।
केही वर्षपछि उनी फेरि त्यहाँ आइपुगे, तिनको चिहान स्थलमा पूmल चढाउनका लागि। त्यहाँ केही बाँकी नै थिएन। बाढी आएर सेठको चिहानलाई पनि बगाएर लग्यो। तब ती साधुले बुझे– ‘यो समय पनि जानेछ।’
साधु जुन राज्यमा बस्थे, त्यहाँका राजाले एकदिन घोषणा गरेछन्– ‘मलाई एउटा यस्तो औँठी चाहिएको छ, जसमा कुनै त्यस्तो कुरा लेखिएको होस्, जसलाई पढ्दा म उदास हुँदा पनि खुसी हुन सकूँ र खुसी छु भने उदास बनूँ।’ जसै ती साधुलाई राजाको त्यो घोषणाका बारेमा थाहा भयो, उनी राजाकहाँ गए।
अनि, उनले भने– ‘महाराज ⁄ आफ्नो औँठीमा लेख्न लाउनुहोस्– यो समय पनि जानेछ ! ’ राम्रो समय आउँदा यसलाई पढेर तपाईंलाई दुःख लाग्छ अनि तपाईंको खराब समय हुँदा यसलाई पढेपछि खुसी लाग्छ। सुख र दुःख त आउनेछन्। यसको सारांश यो वाक्यबाटै बुझिन्छ ः ‘यो समय पनि जानेछ।’
यदि सुख छ भने अहिल्यैदेखि दुःखबाट जोगिने तयारी गर्नुपर्छ। यदि दुःखी हुनुहुन्छ भने चिन्ता केका लागि ? दुःख त जानका लागि नै आएको हो। केवल यो कुरालाई बुझ्नु आवश्यक हुन्छ। यो बुझ्नु किन आवश्यक छ भने सायद यो कुरा थाहा पाएर तपाईंलाई अचम्म लाग्छ होला।
तर, मानिससँग केवल २५ हजार ५ सय ५० दिन मात्र हुन्छ। आज मानिसको औसत आयु ७० वर्षको न छ। अर्थात् २५ हजार ५ सय ५० दिन। यीमध्ये धेरै दिन त बितिसके। अब जति बाँकी छ, त्यसलाई सुख र दुःखको जाँतोभित्र किन पिँध्ने ? सुख र दुःखको चक्करबाट उम्किएर हरेक दिनको मूल्यलाई बुझ्नु आवश्यक छ।
किनकि, २५ हजार ५ सय ५० दिनमध्ये एकदिन घटिरहेको छ। जुन कहिल्यै फर्केर आउँदैन। त्यसैले हरेक दिन त्यो उड्ने पुतली जसरी जीवन जिउनुपर्छ। जो केवल एकदिनका लागि बाँच्छ अनि आफ्नो लक्ष्य जुन प्रकाशतर्पm छ, त्यसबाट हट्दैन।
मानिसको जिन्दगीको पनि एउटा लक्ष्य छ। त्यो लक्ष्य के हो भने शान्तिमा रहेर यो जीवनलाई आनन्दित तरिकाले जिउनु। यसैका लागि उसले हरेक दिन मेहनत गर्छ। तर, सुख र दुःखमा फसेर पछाडि पर्छ। कबीरदासजी पनि भन्छन्– ‘जाँतो घुमेको देखेर रोए उनी, दुई फक्लेटाका बीचमा सग्लो बचेन कोही पनि।’
जाँतो हो यो संसार। त्यसमा पिँधिइरहेका छन् मानिस। दिन–रात अनि सुख–दुःखको चक्करमा फसेर पाएको अनमोल जीवनलाई खेर फालिरहेका छन्। जबकि मानिसले यसलाई याद गर्नुपर्छ– ‘यो समय पनि जानेछ।’ अहिले समय आएको छ तर जानेछ ⁄ यदि सुख छ भने त एकदमै राम्रो कुरा हो तर दुःख आउनेछ।
त्यसका लागि पहिला नै तयार हुनु आवश्यक हुन्छ। त्यसैले भनिएको छ– ‘जाँतो–जाँतो सबैले भन्छन्, मानी भन्दैन कोही, जो मानीसँगै हुन्छ उसको रौँ पनि हल्लिँदैन केही।’ अर्थात् यो संसाररूपी जाँतोबाट जोगिनका लागि हृदयमा भएको शान्तिको सहारा लिनुपर्छ।
किनकि, व्यक्तिले ‘यो समय पनि जानेछ’ भन्ने कुरा बुझेपछि उसले यो जीवनको वास्तविक आनन्दलाई ग्रहण गर्न थाल्छ। सुख र दुःख भलै आओस् अनि जाओस्, उसलाई केही पनि असर पर्दैन।
किनकि, व्यक्तिले आफ्ना सारा जिम्मेवारीलाई निर्वाह गरेर आफ्नो हृदयमा भएको शान्तिलाई अनुभव गर्न थालेपछि त्यो जीवन आनन्दले भरिभराउ हुन्छ। मानवजीवनको सफलताको आधार यही नै हो।
यो भनाइ हो– मानवता र शान्तिका बारेमा चर्चा गर्नुहुने अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको। यस कार्यका लागि कैयौँ सरकारी एवम् शैक्षिक संस्थाद्वारा उहाँलाई ‘शान्तिदूत’को उपाधि प्रदान गरिएको छ।
आफ्नो सन्देशको चर्चाका साथसाथै उहाँले मानिसहरूलाई आत्मसम्मान, शान्ति र समृद्धिका साथ जीवनयापन गर्नलाई मद्दत गर्ने उद्देश्यले ‘द प्रेम रावत फाउन्डेसन’ नामक एउटा परोपकारी संस्था पनि सञ्चालन गर्नुभएको छ।
यो संस्थाको विभिन्न परियोजनामध्ये एउटा हो– जनभोजन कार्यक्रम, जसअन्तर्गत आवश्यक पर्ने मानिसहरू एवम् बालबालिकालाई दैनिक पोषणयुक्त भोजन तथा स्वच्छ खाने पानी उपलब्ध गराइन्छ।
प्रेम रावत फाउन्डेसनले अन्य ठूला परोपकारी संस्थासँग सहकार्य गरेर विश्वभरि नै प्राकृतिक विपत्तिमा राहत प्रदान गर्ने कार्यमा सहयोग पनि गर्दछ।
(लेखक डा. ढुंगेल प्रेमसागर फाउन्डेसन, नेपालका उपाध्यक्ष हुनुहुन्छ।)
प्रतिक्रिया