मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

0
Shares

बैतडी, (नेस)।

अगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि बैतडीका ३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्लाको पुर्चाैडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

यी ३ वटै वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै छ। निर्वाचन अधिकृत पनि तोकिसकिएको छ। उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुर्नया गाउँपालिकाको वडा नं १ मा रहने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकिएको निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो।

सुर्नया–१ का लागि जिल्ला अदालत बैतडीका न्यायाधीश ईश्वरीप्रसाद भण्डारी, पुर्चौडी–४ मा उच्च अदालत कञ्चनपुर इजलास शाखाका रजिस्ट्रार टेकराज जोशी र दोगडाकेदार–४ मा उच्च अदालत डोटीका तथा सरकारी वकिल कार्यालयका सहरजिस्ट्रार टेकबहादुर थापालाई निर्वाचन अधिकृत तोकिएको उहाँले बताउनुभयो।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय स्थापना भएसँगै निर्वाचन गतिविधि पनि बढ्दै गएका छन्।यसैबीच राजनीतिक दलहरुले पनि आफ्नो तयारी थालेका छन्। यी वडामा नेकपाले उम्मेदवारको टुंगो लगाइसकेको छ भने कांग्रेसले दोगडाकेदार–४ मा मात्रै आफ्नो उम्मेदवार टुंगाएको हो।