गोली हानेर अपहरणकारी पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज।

पर्सा प्रहरीले गएको कात्तिक १० गते बनेपाबाट अपहरणमा परेका बालकलाई सकुशल उद्दार गरेको छ।अपहरणकारीमध्ये एक जनालाई खुट्टामा गोली हानी बालकको उद्दार गरेको हो।

पर्साको वीरगन्ज महानगरपालिका–२५ सिर्सिया घर भई काभ्रेको बनेपामा काम गर्दै आएका अम्जद खानको १४ वर्षीय छोरालाई प्रहरीले सकुशल उद्दार गरेको हो।

अपहरणकारीमध्ये फिरौती रकम लिन नेपाल आएका पर्साको पोखरिया नगरपालिका–६ सोनवरी बस्ने वर्ष २० का राजकुमार दासलाई भने प्रहरीले पर्साको सिर्सिया खल्वाटोलाबाट खुट्टामा एक गोली हानी नियन्त्रणमा लिएको छ।

प्रहरी नियन्त्रणमा परेका दासले बच्चा राखेको ठाउँ बताएपछि अपहरित बालकलाई पनि पर्सा प्रहरीले भारतीय प्रहरीको समन्वयमा सकुशल उद्दार गरेको छ।

पीडितले काठमाडौं अपराध महाशाखामा र पर्सामा दिएको उजुरीका आधारमा पिछा गरिरहेको प्रहरीले फिरौती बुझ्न आएका दासलाई एक गोली खुट्टामा हानी नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो।

अपहरणकारीले रकम दिन ल्यायो भनी पीडित खानको झोला खोसी हतियार देखाएर भाग्न थालेको समयमा दाहिने खुट्टामा गोली हानी पक्राउ गरिएको उहाँले बताउनुभयो।

अपहरणकारीले सुरुमा १५ लाखबाट सुरु गरेको बार्गेनिङ १२ लाखमा आएर नघटी फिरौती रकम पाउने आशमा रकम बुझ्न खोजेका थिए। तर प्रहरीले त्यो केसलाई फलो गरिराखेकाले अभियुक्तमध्ये एकलाई घाइते बनाई नियन्त्रणमा लिएको उहाँको भनाइ छ।

घाइते दासले दिएको लोकेसनका आधारमा बालकलाई अज्ञातस्थलबाट सकुशल उद्दार गरिएकोे प्रहरी उपरीक्षक राठौरले बताउनुभयो।

गोली लागी घाइते भएकाबाहेक अरू पनि दुई जना अपहरणकारी घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बताउनुभयो।

अपहरित बालकको भने सुरक्षा दृष्टिकोणले नाम सार्वजनिक गरिएको छैन। घाइते दासको भने वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ।