अनेरास्ववियुले जलायो  भारतीय नयाँ नक्सा

0
Shares

प्रताप बानियाँ, म्याग्दी।

भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि समावेश गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले नक्सा जलाएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी म्याग्दीले बुधबार साँझ सदरमुकाम बेनीमा विरोध सभाको आयोजना गरी भारतको नयाँ नक्सा जलाएको हो।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु म्याग्दीमा आबद्ध विद्यार्थीको समूहले ‘गो ब्याक इन्डिया’ लेखेको कालो ब्यानरसहित विरोध गरेको जनाएका छन्।

विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका जिल्ला नेता सुवास विश्वकर्माले भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो।

उहाँले भारतले तत्कालै नक्सा नसच्याए कालापानी र लिपुलेक पुगेर नेपालको झण्डा गाड्ने बताउँदै यसका लागि नेपाल सरकारलाई आवश्यक पहल गर्न माग गर्नुभयो।

अनेरास्ववियुका अर्का नेता सुदिन पौडेलले भारतले पटकपटक नेपाली भूमिमाथि अतिक्रमण गर्दै आइरहेको बताउँदै नेपाली भूमिको रक्षाका लागि अनेरास्ववियु जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताउनुभयो।

उहाँले अहिलेको अवस्थामा सबै नेपालीहरु एक भएर भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको नेपाली भूमिसहितको नक्सा सच्याउन लाग्नुपर्नेमा जोड दिनुभयो।

विरोध कार्यक्रममा विद्यार्थीहरुले भारतको विरोध गर्दै चर्को नाराबाजीसमेत गरेका थिए। गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। भारतले सार्वजनिक गरेको उक्त नयाँ नक्सामा नेपालको झन्डै ३ सय ७२ किलोमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन्। साथै उनीहरुले यथाशीघ्र नेपाल सरकारको धारणा समेत मागेका छन्।