३४ प्रश्नमै दिन बित्यो आलमको इन्कारी बयान 

0
Shares

सञ्जय कार्की, रौतहट ।

८ सय ७८ पृष्ठ प्रहरीको अनुसन्धान र ३९ पृष्ठ जिल्ला सरकारी वकिलको कार्यालयको अभियोजन पत्रसहित दायर भएको निलम्बित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमको तीनवटा मुद्दा माथिको बुधबारको बयानमा ३४ प्रश्न सोधिएको छ।

जिल्ला अदालत गौरका न्यायाधीश दीपक ढकालले अदालतमा पेस गरिएका निलम्बित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यानसम्बन्धीको ३४ वटा प्रश्न सोध्नुभएको हो।

समय अभावका कारण बुधबार बयान नसकिएपछि बिहीबार भने ज्यान मार्ने उद्योग र बम बिस्फोटसम्बन्धी प्रश्न आलमलाई सोधिने जाहेरवालाका अधिवक्ता पुष्पराज पौडेलले बताउनुभयो।कर्तव्य ज्यानसम्बन्धी सोधिएका प्रश्नमा निलम्बित साँसद मोहम्मद अफताब आलमको इन्कारी बयान रहेको छ।

पहिलो संविधानसभाको निर्वाचन हुने अधिल्लो दिन ०६४ चैत्र २७ गते नेपाली कांग्रेसका उम्मेदबार मोहम्मद अफताब आलमको काका शेष इद्रिसको गोठमा भण्डारण गरी राखेको बम विस्फोट भएपछि व्यक्ति हत्या, घाइते र बम विस्फोटलाई आधार मानेर प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोजनपत्रले निलम्वित सांसद आलमलाई जिल्ला अदालत गौरले थुनछेकका लागि  बयान लिएको हो।

२३ दिन लगाएर प्रहरीले गरेको अनुसन्धानपछि किटानी जाहेरमा उल्लेख गरिएका पाँच जनासहित थप ६ जनालाई प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले ११ जनालाई प्रतिवादी बनाएको छ।

तर घटनामा ढाकछोप गर्ने प्रहरीका तत्कालीन अधिकारीलाई भने साक्षीका रूपमा प्रस्तुत गरिएको छ। आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत गौरमा अभियोग पत्र दर्ता गराएपछि उनको बयान मंगलबार र बुधबार दुई दिन भएको हो।

मंगलबार ९ प्रश्न सोधिए पनि बुधबार ३४ प्रश्नमा दिन बितेको हो। जिल्ला अदालत गौरका न्यायाधीश दीपक ढकालले आलमसँग बयान लिनुभएको हो।बम विस्फोटमा परी सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामा लगेर जिउँदै चिम्नी भट्टामा जलाएर हत्या गरेको आरोपमा उनीमाथि तीनवटा अभियोगको मुद्दा लागेको हो।

घटनालाई ढाकछोप गर्ने तत्कालीन सरकारी अधिकारीहरुलाई भने यो अनुसन्धानले साक्षी राखेर बचाउन खोजिएको छ। मुद्दा नचल्ने निर्णय गर्ने तत्कालीन जिल्ला सरकारी वकिलदेखि महान्याधिवक्ता र प्रहरी अधिकृतदेखि महानिरीक्षकसम्मलाई बयान लिएर साक्षीको रूपमा उभ्याइएको छ।