अनेरास्ववियु म्याग्दीले जलायो नेपालको भुमि समेटिएको भारतीय नयाँ नक्सा


प्रताप बानियाँ, म्याग्दी ।

भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको भुमि समावेश गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी सङ्गठनले नक्सा जलाएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले बुधबार साँझ सदरमुकाम बेनीमा विरोध सभाको आयोजना गरी भारतको नयाँ नक्सा जलाएको हो । नेकपाको विद्यार्थी सङ्गठन अनेरास्ववियु म्याग्दीमा आबद्ध विद्यार्थीको समूहले ‘गो व्याक इन्डिया’ लेखेको कालो व्यानरसहित विरोध गरेको जनाएका छन् ।

विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका जिल्ला नेता सुवास विश्वकर्माले भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले भारतले तत्कालै नक्सा नसच्याए कालापानी र लिपुलेक पुगेर नेपालको झण्डा गाड्ने बताउँदै यसका लागि नेपाल सरकारलाई आवश्यक पहल गर्न माग गर्नुभयो ।

अनेरास्ववियुका अर्का नेता सुदिन पौडेलले भारतले पटकपटक नेपाली भुमिमाथि अतिक्रमण गर्दै आइरहेको बताउँदै नेपाली भुमिको रक्षाका लागि अनेरास्ववियु जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा सबै नेपालीहरु एक भएर भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको नेपाली भुमिसहितको नक्सा सच्याउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

विरोध कार्यक्रममा विद्यार्थीहरुले भारतको विरोध गर्दै चर्को नाराबाजीसमेत गरेका थिए । गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । भारतले सार्वजनिक गरेको उक्त नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलोमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ ।

सुदुरपश्चिम प्रदेश अन्तर्गत रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । साथै उनीहरुले यथाशीघ्र नेपाल सरकारको धारणासमेत मागेका छन् ।