प्रदेश–३ का नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण


न्युज अफ नेपाल, हेटौंडा ।

प्रदेश–३ का नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले बुधबार हेटौंडामा पदभार ग्रहण गर्नुभएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखको सपथग्रहण गर्नुभएका प्रसाईंले बुधबार दिउँसो प्रदेश प्रमुखको कार्यालय हेटौंडामा पदभार ग्रहण गर्नुभएको हो ।

उहाँलाई प्रदेश मन्त्रीत्रय शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल र युवराज दुलाल, प्रदेश सांसद् प्रदीपकुमार कटुवाल क्षेत्री, प्रदेशका मुख्य न्यायाधीवक्ता ओमप्रसाद थपलिया, जिल्ला समन्वय समिति मकवानपुर प्रमख रघुनाथ खुलाल, हेटौंडा नगर उपप्रमुख मीना लामा, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिले स्वागत गर्नुभएको थियो । उहाँलाई कार्यालयपरिसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

प्रदेश प्रमुख प्रसाईंले मन्त्रीहरु, प्रदेश सांसद्, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिसमक्ष सम्बोधन गर्नुभएको थियो । प्रदेश प्रमुख प्रसार्इंले संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिवद्धता जनाउँदै प्रदेशको विकासका लागि दलहरु र सबैको सुझावबाट अघि बढ्ने बताउनुभयो ।

उहाँले संवैधानिक दायरामा रही प्रदेशको प्रगति र उन्नतिमा काम गर्ने बताउनुभयो । उहाँले प्रदेशको प्रगतिका लागि सबैसँग सहकार्य गरेर काम गर्ने भन्दै नेपाली जनताको सद्भावका निमित्त आफूलाई पठाइएकोले काम गरेरै देखाउने दाबी गर्नुभयो ।