गोली हानेर अपहरणकारी पक्राउ, अपहरित बालकको सकुशल उद्वार


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा प्रहरीले गएको कार्तिक १० गते बनेपाबाट अपहरणमा परेका बालकलाई सकुशल उद्दार गरेको छ ।

अपहरणकारीमध्ये एकजनालाई खुट्टामा गोली हानी बालकको उद्धार गरेको हो । पर्साको वीरगन्ज महानगरपालिका २५ सिर्सिया घर भई काभ्रेको बनेपामा काम गर्दै आएका अम्जद खानको १४ वर्षीय छोरालाई प्रहरीले सकुशल उद्दार गरेको हो ।

अपहरणकारीमध्ये फिरौती रकम लिन नेपाल आएका पर्साको पोखरिया नगरपालिका ६ सोनवरी बस्ने वर्ष २० का राजकुमार दासलाई भने प्रहरीले पर्साको सिर्सिया खल्वाटोलाबाट खुट्टामा एक गोली हानी नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा परेका दासले बच्चा राखेको ठाउँ बताएपछि अपहरित बालकलाई पनि पर्सा प्रहरीले भारतीय प्रहरीको समन्वयमा सकुशल उद्दार गरेको छ । पीडितले काठमाडौं अपराध महाशाखामा र पर्सामा दिएको उजुरीका आधारमा पिछा गरिरहेको प्रहरीले फिरौती बुझ्न आएका दासलाई एक गोली खुट्टामा हानी नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो ।

अपहरणकारीले रकम दिन ल्यायो भनी पीडित खानको झोला खोसी हतियार देखाएर भाग्न थालेको समयमा दाहिने खुट्टामा गोली हानी पक्राउ गरिएको उहाँले बताउनुभयो ।

अपहरणकारीले सुरुमा १५ लाखबाट सुरु गरेको वार्गे्निङ १२ लाखमा आएर नघटी फिरौती रकम पाउने आशमा रकम बुझ्न खोजेका थिए । तर प्रहरीले त्यो केसलाई फलो गरिराखेकोले अभियुक्तमध्ये एकलाई घाइते बनाई नियन्त्रणमा लिएको उहाँको भनाइ छ । घाइते दासले दिएको लोकेशनका आधारमा बालकलाई अज्ञातस्थलबाट सकुशल उद्दार गरियो प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

गोली लागी घाइते भएकाबाहेक अरू पनि दुईजना अपहरणकारी घटनामा सम्लग्न भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताउनुभयो । अपहरित बालकको भने सुरक्षा दृष्टिकोणले नाम सार्वजनिक गरिएको छैन। घाइते दासको भने वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

पक्राउ परेकाबाट पेस्तोलसहित विभिन्न समान बरामद प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएका दासको साथबाट १ थान कटुवा पेस्तोल र त्यसका लाग्ने ४ थान गोली, अभियुक्त चढेर आएको बीआर २२ जे ०८०३ नम्बरको १ थान बजाज प्लाटिना मोटरसाइकल १ थान, मोबाइल १, र ब्लुटुथ इयरफोन १ थान र व्याग पनि १ फेला परेको पर्सा प्रहरीले जनाएको छ ।