सामुदायिक वनसँग सहकार्य गरेर शान्तिबाटिका निर्माण गर्न मुख्यमन्त्री पौडेलकाे निर्देशन


हेटौँडा ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा बनाउन लागिएको शान्तिबाटिका सामुदायिक वनमा बनाउन सुझाउनुभएको छ ।

आज हेटौँडामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको स्थानीय तहसँगको साझेदारिमा सञ्चालन हुने कार्यक्रमको प्रस्तावित कार्यविधि अन्तक्र्रिया कार्यक्रममा उहाँले जग्गा छैन भन्ने स्थानीय तहलाई सामुदायिक वनसँग सहकार्य गर्न सुझाउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले द्वन्द्वमा मारिएका शहीदको सम्मानमा बन्न लागेको शान्तिबाटिकाले ऐतिहासिक महत्व बोक्ने भएकाले यसको भावनाबमोजिम दीर्घकालीन संरचना निर्माण गर्न सबै स्थानीय निकायलाई निर्देशन दिनुभयो ।

जग्गाको मामिलामा प्रदेश सरकार आफैँ पीडित भएको बताउँदै स्थानीय निकायलाई रुख नभएको र प्रयोगविहीन रहेको जमीनको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संरचना निर्माणमा गुणस्तर कायम गर्नसमेत निर्देशन दिनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय तहलाई आफ्नो भवन निर्माण गरेर मात्र त्यसमा इजलासको स्थायी संरचना निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले न्यायिक समितिका लागि इजलास गर्ने हलमा आवश्यक संरचना बनाउनका लागि आफ्ना भवन बनाइसकेका स्थानीय तहको अनुशरण गर्दै आफ्नो भवन निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

सरकारको लगानी स्थायी संरचना निर्माणका लागि भएकाले पहिला आफ्नो संरचना स्थायी बनाउनुपर्ने मन्त्री जम्मकट्टेलको भनाइ थियो । मन्त्री जम्मकट्टेल गाउँगाउँमा बेपत्ता परिवार र परिवर्तनका लागि ज्यान गुमाउने शहीद भएकाले उनीहरुको सम्मानमा प्रदेश सरकारले शान्तिबाटिका निर्माण गर्न लागेको र यस बाटिकामार्फत आन्तरिक पर्यटन प्रवद्र्धनसमेत गरिने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा इजलास निर्माणसम्बन्धी कार्यविधि, शान्तिबाटिका निर्माण कार्यविधि र स्थानीय तहसँग सुरक्षा व्यवस्थापन साझेदारी कार्यविधिसम्बन्धी छलफल भएको थियो । मन्त्री जम्मकट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो । रासस