महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
Shares

बेइजिङ, (एजेन्सी)।

आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ।

चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्र्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ

। तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन थालेपछि एयरलायन्स पाइलटलाई कारबाही गर्न बाध्य भएको बताइएको छ।

तस्वीरमा ककपिटमा पोज दिएर बसेकी ती परिचय नखुलाइएकी महिलाको छेउमा खानपिनका सामानहरू राखिएको देखिन्छ। एयर गुइलिनले एक औपचारिक विज्ञप्तिमार्फत पाइलटले उडानका दौरान सुरक्षा नीति, नियम उल्लंघन गरेको तथ्य स्विकारेको छ।

गत ४ जनवरीमा कल साइन जिटी–१०११ बोकेको विमानमा यो घटना घटेको दि ग्लोबल टाइम्सले पुष्टि गरेको छ। ती आरोपित यात्रुले चीनमा निकै लोकप्रिय माइक्रो–ब्लगिंग साइट वेइवोमा पास्ट गरेको स्क्रिनसटहरु धमाधम सेयर हुन थालेपछि बल्ल सम्बन्धित एयरलाइन्सको ध्यान आकर्षित भएको थियो।

आफ्ना औंलाले ‘भि’ संकेत दिएर तस्वीरका लागि पोज दिएकी ती महिलाले तस्वीरको क्याप्सनमा लेखेकी छिन्– ‘धन्यवाद क्याप्टेन। धेरै खुसी लागेको छ।’

‘न्यूज साइट चाइनिज न्यु सर्भिसका अनुसार ती महिला गुइलिन युनिभर्सिटीको तालिममा रहेकी फ्लाइट एटेनडेन्ट रहेको हल्ला चलेको छ।एयर गुइलिनले सो तस्वीर आकाशमै खिचिएको पुष्टि गरेको छैन। तर अन्य चिनियाँ पाइलटहरु र विश्लेषकहरुले सो तस्वीर निश्चित पनि उडानकै क्रममा खिचिएको देखिने दाबी गरेका छन्।