आईएए नेता बगदादीकी दिदी अवाद पक्राउ परेको टर्कीको दाबी

0
Shares

अंकारा, (एजेन्सी)।

टर्कीका लडाकूहरूले आईएसआईए नेता बगदादीकी दिदी रस्मिया अवादलाई सिरियाको उत्तरी शहर एजाजबाट गिरफ्तार गरिएको जनाएको छ।६५ वर्षीया रस्मिया अवादसँगै उनका पति र बुहारीलाई पनि गिरफ्तार गरिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ।

उनीहरू तीनै जनासँग सोधपुछ गरिरहेको टर्किस अधिकारीहरूले जानकारी दिए। उनीहरूलाई सिरियाको एजाज शहरबाट गिरफ्तार गरिएको हो। उक्त इलाका टर्कीको कब्जामा रहेको छ।

पक्राउका बेला बगदादीका दिदीसँग पाँच बच्चा थिए। सोधपुछमा उनीहरूबाट आईएसआईएसका बारेमा धेरै महत्वपूर्ण जानकारी प्राप्त हुने र त्यसको फाइदा उठाउन सकिने सुरक्षा एजेन्सीहरूले जनाएको छ।

बगदादीकी दिदीका बारेमा जानकारी अत्यन्त कम छ र अहिलेसम्म स्वतन्त्र रूपमा गिरफ्तार गरिएकी महिलाको पहिचानको पुष्टि गर्न कठिन हुने जनाइएको छ।न्युयोर्क टाइम्सले बगदादीका पाँच दाजुभाइ र थुप्रै बहिनी भएको उल्लेख गरेको छ।

यद्यपि उनीहरू सबै जीवितै छन् भन्ने विषयमा पनि स्पष्ट छैन। बगदादीकी दिदीलाई सिरियाको अलेप्पो प्रान्तमा गिरफ्तार गरिएको हो। विगत महिनामा टर्कीले एक सैन्य कारबाहीपछि त्यसको केही इलाका आफ्नो नियन्त्रणमा लिएको थियो।

उक्त इलाका इस्लामिक स्टेट सदस्यका नातेदारहरूको तस्करीको एक मार्गका रूपमा चिनिन्थ्यो। बगदादीकी दिदी अवाद एक ट्रेलरमा आफ्नो पति, बुहारी र पाँच बच्चासँग बस्दै आइरहेको टर्कीका एक अधिकारीले एपी न्युज एजेन्सीलाई बताए।

गत अक्टोबर २७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईएसआईएसका नेता अबु बकर अल बगदादी एक सैन्य कारबाहीमा मारिएको घोषणा गरेका थिए।

शुरूमा उनी भागेर बच्न खोजेको तर चारैतर्फबाट घेरिएपछि उनले आफूलाई विस्फोट गराएका थिए। आईएसआईएसका तर्फबाट जारी अनलाइन अडियोमा उनी मारिएको पुष्टि गर्दै नयाँ नेतासमेत चयन गरिसकेको घोषणा गरिएको छ।