खेलाडी सहयोगकर्ता सिद्धार्थ सम्मानित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

विभिन्न खेलका नेपाली खेलाडीलाई सहयोग गर्दै आएका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का यूके च्याप्टरका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्री सम्मानित भएका छन्।
नेपाल बक्सिङ संघका पूर्वपदाधिकारीले सोमबार पूर्व बक्सर क्षेत्रीलाई सम्मान गरेका हुन्।

सन् २००७ देखि बेलायतमा बस्दै आएका उनले नेपाली खेलाडीहरूलाई समस्या पर्दा सहयोग गर्दै आएका छन्। उनको यस योगदानलाई कदर गर्दै संघले सम्मान गरेको हो।

बक्सिङ परिवारका नाममा आयोजित सम्मान कार्यक्रम बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ र पूर्वमहासचिव दीपक गुरुङको पहलमा सम्पन्न भएको थियो।

उनीहरूले क्षेत्रीलाई दोसल्ला र बुद्धको प्रतिमा उपहार दिँदै सम्मान गरेका थिए। क्षेत्रीको पहलमा केही दिनअघि नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका वाइबी घलेलाई २ लाख रुपियाँ सहयोग गरिएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय सदस्यसमेत रहेका घले ११ वर्षदेखि पक्षघातबाट पीडित छन्। क्षेत्रीको पहलमा समय समयमा बक्सिङ खेलाडीलाई पनि सहयोग हुँदै आएको छ।
क्षेत्रीले सम्मानका लागि नै आफूले काम नगरेको बताए।

नेपाली खेलकुद र खेलाडीको मायाले उनले सहयोग गर्दै आएको सुनाए। क्षेत्रीले भविष्यमा एसियाली खेलकुद र ओलम्पिक छनोटलाई मध्यनगर गर्दै ३ देखि ५ खेलाडीलाई बेलायतमा प्रशिक्षणको व्यवस्था मिलाउने पहल भइरहेको जानकारी पनि दिए।

नयाँ पुस्ताका सम्भावना भएका खेलाडीहरूलाई ६ महिनासम्मको प्रशिक्षणका लागि पहल गरिरहेका उनले बताए। उनले आफू जहाँ भए पनि नेपाली खेलकुद र खेलाडीलाई सहयोग गर्ने कुरा व्यक्त गरे।
बक्सिङ संघका पूर्वमहासचिव गुरुङले क्षेत्रीले विगतदेखि नै नेपाली खेलाडीलाई सहयोग गर्दै आएको र स्वदेश फर्केको समय पारेर सम्मान गरिएको जानकारी गराए।

संघका पूर्वअध्यक्ष श्रेष्ठले क्षेत्रीको कामको सराहना गर्दै भविष्यमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं बक्सिका उपाध्यक्ष अर्जुन केसी, ओलम्पिक उमेश मास्के, फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठलगायतले क्षेत्रीको प्रशंसा गरेका थिए।

अक्षयकोष स्थापनाको घोषणा

नेपाल बक्सिङका पूर्वपदाधिकारीको पहलमा बक्सिङ खेलाडी अक्षय कोष स्थापना हुने भएको छ। संघका पूर्वपदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का यूके च्याप्टरका अध्यक्ष एवं पूर्व बक्सर सिद्धार्थविक्रम क्षेत्रीको सम्मानमा सोमबार आयोजित कार्यक्रममा संघका पूर्वमहासचिव दीपक गुरुङले बक्सिङ खेलाडीका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन्।

गुरुङले कोषमा १ लाख रुपियाँ दिने घोषणा गरे। संघका पूर्वअध्यक्ष राजीव श्रेष्ठ र सोमबार सम्मानित भएका पूर्व बक्सर क्षेत्रीले समान १ लाख रुपियाँ अक्षय कोषमा दिने घोषणा गरे।

त्यस्तै ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर एवं काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले १० हजार रुपियाँ सहयोगको घोषणा गरे।

गुरुङले खेलाडीहरूलाई गाह्रो पर्दा अक्षय कोष रकमको ब्याजबाट सहयोग गर्ने योजना रहेको बताए। पूर्वअध्यक्ष श्रेष्ठले अक्षय कोषमा १ करोड रुपियाँ पुर्याउने लक्ष्य लिएको बताएका थिए।