नेपाल समाचारपत्र, काठमाडौं।
नेपाली यू–१९ राष्ट्रिय फुटबल टोलीले इरानमा आयोजना हुने एएफसी यू–१९ फुटबल च्याम्पियनसिपमा राम्रो नतिजा निकाल्ने लक्ष्य लिएको छ। सोमबार त्यसतर्फ प्रस्थान गर्नुअघि टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले नतिजा राम्रै हुने बताउनुभयो। प्रशिक्षक केसीले भन्नुभयो– ‘हामी इरानमा छनोट खेल खेल्न गइरहेका छौं।
नेपाली खेलाडीहरू अन्य राष्ट्रका खेलाडीभन्दा कम छैनन्। प्रतिभावान खेलाडी छन्। तर यिनीहरूको प्रतिभालाई सदुपयोग भएको छैन। अहिले हामीले साफ यू–१८ च्याम्पियनसिपमा बेस्ट खेलेका र विभिन्न उमेरमा खेलिरहेका खेलाडीलाई लिएर यो टोली बनाएका हौं।
यो टोलीले निरास गर्दैन भन्ने मेरो विश्वास छ। यो टोलीले नेपाली फुटबलको भविष्य उज्ज्वल गर्ने खालको प्रदर्शन गर्नेमा हामी आशावादी भएका छौं।’यसअघि गत महिना सम्पन्न यू–१८ साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन निकै खस्केको थियो।
नेपाल भुटानसँगै पराजित हुन पुगेको थियो। जसले गर्दा दुई पटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको थियो। यसै कारण प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिनुभएको थियो। श्रेष्ठको स्थानमा केसीलाई तीन साताअघि प्रशिक्षकको जिम्मेवारी दिइएको हो।
उनीमाथि नेपाली फुटबलको पुरानो साख फर्काउन ठूलो दबाब रहेको छ। इरानमा हुने प्रतियोगिता केसीको लागि अग्निपरीक्षाको रूपमा लिइएको छ। यसै गरी सोही दिन प्रशिक्षक केसीले रेजिन सुब्बालाई कप्तानीको जिम्मेवारी दिनुभएको थियो केसी तीन साताअघि मात्रै टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएको थियो।
एन्फा कम्प्लेक्समा भएको बिदा कार्यक्रममा उनलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो।कप्तान रेजिनले इरान गएर सबै जनाले आफ्ना तर्फबाट उत्कृष्ट खेल्नेमा विश्वास गरेका छन्। रेजिनले बताए– ‘हामीले तयारीका लागि पर्याप्त समय त पाएनौं।
तर पनि यो टोली राम्रै बनेको छ। इरानमा सबैले आ–आफ्नो तरिकाले उत्कृष्ट प्रदर्शन गर्छन् भनेर मैले अपेक्षा गरेको छु। सबैले राम्रो खेलेमा हामीले साफमा गरेको प्रदर्शनलाई बिर्साउनेछ।’
नेपाल प्रतियोगितामा समूह ‘डी’मा परेको छ। नेपालको समूहमा आयोजक इरान, यूएई र किर्गिस्तान रहेका छन्। नेपालले बुधबार पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यसपछि शुक्रबार नेपालको सामना आयोजक इरानसँग हुनेछ। कात्तिक २४ गते नेपालले किर्गिस्तानविरुद्ध खेल्नेछ।
नेपाली टोली
रेजिन सुब्बा (कप्तान), विकास खवास (उपकप्तान), विशाल सुनार, रोहित कार्की, पुजन होना, विशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नवीन गुरुङ, रोशन दोङ, योगेश गुरुङ, निराजन महर्जन, दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेन्जन, मनिष डाँगी, राजीव लोप्चन र दिपेश आलेमगर।
प्रतिक्रिया