लरीका शव सम्बन्धमा आठ पक्राउ

0
Shares

हनोइ, (एजेन्सी)।

बेलायतको एस्सेक्समा एउटा लरीभित्र ३९ जना मानिसको शव फेला परेको घटनाको सिलसिलामा सोमबार भियतनाममा आठ जना आशंकितलाई प्रहरीले गिरफ्तार गरेको छ। भियतनामी सरकारी अधिकारीहरुको टोलि ३१ जना पुरुष र ८ जना पुरुषका शव औपचारिक रूपमा सनाखत गर्न मद्दत गर्ने उद्देश्यले बेलायतमा पुगेकै बेला तिनीहरु गिरफ्तारीमा परेका हुन्।

ती आसंकित व्यक्तिहरुलाई अवैध मानव ओसारप्रसारको सिलसिलामा पक्राउ गरिएको भियतनामको उत्तर–मध्ये प्रान्त न्घे एनका प्रहरी महानिर्देशकले बताएका छन्। यसअघि गत साता नै भियतनामको हा तिन्ह प्रान्तमा अन्य दुईजना गिरफ्तारीमा परिसकेका छन्।

गत २३ अक्टोबरमा बेलायतको ग्रेजस्थित एक औद्योगिक क्षेत्रमा रेफ्रिजेरेटरयुक्त लरीभित्र तिनीहरुका लाश भेटिएका थिए। शुक्रबार बेलायती प्रहरीले ती सम्पूर्ण ३९ जना भियतनामी भएको विश्वास व्यक्त गरेको थियो।

शुरूमा बेलायती प्रहरीले तिनीहरु चिनियाँ नागरिक हुनुपर्ने अनुमान गरेको थियो। भियतनामको विदेश मन्त्रालयका महिला प्रवक्ताले यस घटनालाई ‘गम्भीर मानवीय क्षति’ को संज्ञा दिएकी छिन्।