हत्या अभियोगमा श्रीमान्सहित दुई पक्राउ

0
Shares

वीरगन्ज, (नेस)।

पर्सा प्रहरीले जिल्लाको जीराभवानी गाउँपालिका–३ परसवाकी नितुदेवी पासवानको हत्याको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले मृतक नितुका श्रीमान् रामबाबु पासवान र श्रीमान्का भिनाजुलाई नियन्त्रणमा लिएको हो। दुवै जनालाई सोमबार बिहान पासवानकै घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा नितुदेवीको शव फेला परेको थियो। ठोरी गाउँपालिका–५ को ओरिया खोलादेखि पूर्वतिरको झाडीमा शव आइतबार बेलुकी फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी उपरीक्षक राठौर र प्रहरी नायब उपरीक्षक गौतम थापासहितको टोलीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो।

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले मृतक नितुका श्रीमान् पासवान र पासवानका भिनाजुलाई अनुसन्धानका लागि सोमबार बिहान नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो।

मृतक नितुदेवीका छिमेकीका अनुसार नितुका श्रीमान् पासवानको परस्त्रीसँग अनैतिक सम्बन्ध रहेको नितुले थाहा पाएपछि पासवानले श्रीमती नितुको हत्या गरेका हुन्।आइतबार नितुलाई भारतमा रहेको ससुराली घरमा पुर्याइदिने भन्दै पासवानले घरबाट उनलाई मोटरसाइकलमा चढाएर निस्किएका थिए। तर बाटोमै उनले नितुलाई खोलाको झाडीमा लगेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको उनका छिमेकीले बताएका छन्।