इटहरीमा ३० किलोमिटर बाटो कालोपत्रे हुने

0
Shares

नेपाल समाचारपत्र, सुनसरी।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीमा चालू आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताउनुभएको छ।इटहरी–१६ कान्छीचौकदेखि बडहरा, डकाहा, पटेरुवा हुँदै जनसहयोग स्कुल जोडने बाटोको कालोपत्रे सडक निर्माण शिलान्यास गर्दै त्यसो भन्नुभएको हो। इटहरीको गौरवका योजनाका रूपमा सञ्चालित बहुवर्षे योजनाअन्तर्गत यही आर्थिक वर्षमा कालोपत्रे भइसक्ने ११ सडकमध्ये यो एक हो।

११ सडक निर्माण भइसक्दा करिब ३० किलोमिटर बाटो कालोपत्रे हुनेछ। प्रमुख चौधरीले पाँच वर्षे कार्यकालमा ५० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्ने योजना रहेको सुनाउनुभयो। पाँच वर्षभित्रमा गाउँका मुख्य बाटोहरू कालोपत्रे भइसक्ने उहाँको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा भइरहेको विकासमा नो कमिसन, नो करप्सनको नीति अवलम्बन गरिएको बताउनुभयो। उहाँले गाउँका जनतालाई उपमहानगरबासी भएको अनुभूति दिलाउन गाउँगाउँका सडक कालोपत्रे गर्ने बहुवर्षीय योजना सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँले बहुवर्षे योजनाअन्तर्गत ११ वटा ग्रामीण सडक कालोपत्रे भइसकेपछि नगरबस सञ्चालन गरेर गाउँगाउँका बासिन्दामा यातायातको सहज पहुँच पुर्याउने बताउनुभयो। आफूहरू जनप्रतिनिधि भएयता बनेका सडकहरू गुणस्तरीय रहेको उहाँको दाबी छ।

कार्यक्रमलाई इटहरी–१९का वडाध्यक्ष श्रीनारायण चौधरी, १८ का वडाध्यक्ष रामकुमार चौधरी र २०का वडाध्यक्ष मणिराज श्रेष्ठले सम्बोधन गर्दै तीनवटा वडा जोड्ने मूल बाटो कालोपत्रे भएपछि ग्रामीण जनताले विकासको अनुभूति गर्ने बताउनुभयो। इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले करिब साढे ६ किलोमिटर सडक निर्माण २०७७ मंसिर २९ गतेभन्दा एक दिन पनि पछि नजाने बताउनुभयो।

निर्माण कम्पनीका प्रतिनिधि सरोज वस्नेतले असारसम्ममै निर्माण सक्ने गरी काम हुने प्रतिबद्धता जनाउनुभयो। इटहरीमा चालू आर्थिक वर्षमा यो समेत चारवटा बहुवर्षे सडक शिलान्यास गरिसकिएको छ। अरू सात सडकको पनि चाँडै शिलान्यास गरिँदै छ।