रेसुंगा नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने

0
Shares

गुल्मी, (नेस)।

गुल्मीको रेसुंगा नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ। कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुंगा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले बताउनुभयो।

नगरप्रमुख भुसालद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा एकदशीमा एकदिन रेसुंगामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरिएको छ। एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल रेसुंगामा ठूलो मेला लाग्ने गर्दछ।

मेलालाई व्यवस्थितरूपमा मनाउन र रेसुंगा क्षेत्रको प्रचार प्रसार गरी नेपाल भ्रमण वर्षमा धेरै पर्यटकको आगमन गराउने उद्देश्यले एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख भुसालले बताउनुभयो। नगरपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गर्दै रेसुंगामा लाग्ने मेलामा सरिक हुनसमेत आग्रह गरेको छ।

रुरु–रेसुंगालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा समावेश गरेको छ। अहिले रेसुंगा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरूको संरक्षण, संवद्र्धन र प्रचार–प्रसारको काम भइरहेको रेसुंगा संरक्षण समितिका अध्यक्ष भुसालले बताउनुभयो।

रेसुंगाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यात्मिक महत्व रहेको जनश्रुति छ। यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरू पनि रहेका छन्। धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालयजस्ता धार्मिकस्थलहरू यसै संरक्षित वनक्षेत्रभित्र पर्दछन्।