पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न ‘प्रतिबन्ध’

0
Shares

मोतीराम तिमल्सिना,पाँचखाल/काभ्रे।

चखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०७५/२०७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरू लाभान्वित भएको दाबी गरेको छ। आर्थिक वर्ष २०७६/२०७७ का लागि नगरपालिकाले खेतीयोय जमिन प्लटिङ गर्न पूर्णप्रतिबन्ध लगाएको छ।

‘राजधानीको वैकल्पिक खेतीयोग्य जमिन भएको नगरका रूपमा चिनिएको पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ’, नगर प्रमुख महेश खरेलले भन्नुभयो– ‘आफूखुसी र मनलाग्दी खेतीयोग्य जमिन प्लटिङ गर्न रोक लगाएका छौं।’ यसले बढ्दै गएको शहरीकरणलाई व्यवस्थित मात्रै गर्दैन खेतीयोग्य जमिन मासिनबाट समेत रोकिने नगरबासीले विश्वास गरेका छन्।

कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले चालू आर्थिक वर्षका लागि प्रिबेसिक सिड आलु दाना वितरण, घरेलु तथा जैविक विषादी उत्पादन तथा भकारो सुधार, वडा नं ७, ८, ९, १०, ११, १३ मा मौरी घार तथा फलफूल बिरुवा वितरण मौरीको पकेट क्षेत्र भू–उपयोग योजना निर्माण, रसायनिक मलको प्रयोग न्यूनीकरण गर्न प्रांगारिक मलमा एनपीके मात्रा बढाई उच्चस्तरको प्रांगारिक मल बनाउने कार्यक्रम शुरू गरेको नगर प्रमुख खरेलले बताउनुभयो।

‘एकल महिला सीपमूलक कार्यक्रम सञ्चालन, दिगो विद्यालय वातावरण शिक्षा कार्यक्रम, मौलिक बाजा संरक्षण कार्यक्रम, लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन, लभ ग्रिन नेपालको साझेदारीमा दिगो कृषि कार्यक्रम सञ्चालन हुनेछन्।’ –नगर प्रमुख खरेलले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पशु बीमामा ५० प्रतिशत प्रिमियम अनुदान, पुरातात्विक अध्ययन उत्खनन, स्यानिटरी ल्यान्डफिल्ड साइट डीपीआर, बीपी राजमार्ग–बेला रानीपानी अरनिको हाइवे सडक स्तरोन्नति, समाजकल्याण अनैकोट पर्यटकीय सडक स्तरोन्नति क्रमागत, अनेकोटमा १ करोडमा खानेपानी आयोजना, वातावरणीय अध्ययन अनुगमन तथा अनुसन्धान, संघीय तथा प्रादेशिक अनुदानका योजना तथा कार्यक्रम कार्यान्वयन, मानसिक रोगको विशेषज्ञ क्लिनिक सञ्चालन, ३९ विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिनेछ।’

नगरपालिकाले विगत वर्षका गतिविधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको नगर प्रमुख खरेलले बताउनुभयो।स्थानीय तह स्वमूल्याङ्कनको नमुना नगरपालिकामा परी उत्कृष्ट अंक प्राप्त (८६ अंक) गरेको, सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता सम्पन्न गरी कार्य शुरू गरेको, सेजका लागि कम्पाउन्ड निर्माण, महिला औद्योगिक ग्राम स्थापना गर्नका लागि सम्झौता, राजस्व तथा जिन्सी सफ्टवेयर खरिद, एसईई दिने विद्यार्थीहरूका लागि कोचिङ कक्षा सञ्चालन, खेलकुद तथा अतिरिक्त क्रियाकलापका कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।