३५ माध्यमिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

0
Shares

सरिता चलाउने, सल्यान।

सल्यानको शारदा नगरपालिकाले छात्राहरूलाई निःशुल्करूपमा सेनेटरी प्याड वितरण गरेको छ। महिनावारी भएको समयमा छात्राहरू नियमित गराउने उद्देश्यले नगरपालिकाले विद्यालयमै पुगेर सेनेटरी प्याड वितरण गरेको हो।

ग्रामीणस्तरका महिला छात्राहरू महिनावारी भएको बेला लजाउने, विद्यालय आउन गाह्रो मान्ने गरेकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सेनेटरी प्याड वितरण गरेको नगर प्रमुख सुरेश अधिकारीले बताउनुभयो।

महिनावारी भएको समयमा छात्राहरू विद्यालयमा आउँदैनन् भन्ने गुनासो आएपछि नगरपालिकाको योजनाअनुसार प्याड वितरण गरेको उहाँले बताउनुभयो। सेनेटरी प्याड उपलब्ध बनाएपछि छात्राहरूको पठनपाठनमा सुधार आउने उहाँले बताउनुभयो।

शिवजन माध्यमिक विद्यालयका ६ सय छात्रासहित नगरभित्रका ३५ विद्यालयका करिब १ हजार ८ सय छात्रालाई निःशुल्करूपमा सेनेटरी प्याड वितरण गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो।

महिनावारी भएका बेला छात्राहरू विद्यालय आए पनि भागेर जाने समस्या, लजाउने, बीचैमा कक्षा छोडेर जाने समस्या खेप्दै आएकाले अब यो समस्या हटेर गएको शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हीरालाल नेपालीले बताउनुभयो। अब महिनावारी भएका बेला विद्यालय नआउने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो।

पहिले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा आफूहरूको पढाइ छुट्ने, अध्ययन गर्दा गर्दै महिनावारी हुँदा एकदमै गाह्रो हुने, पढाइ छोडर घर जानुपर्ने गरेकामा अब भने ती समस्याबाट मुक्त भएको शिवजन माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सुनिता विकले बताउनुभयो।

शिक्षा हासिल गर्नका लागि विभिन्न कुराको खाँचो हुने भएजस्तै छात्राहरूका लागि सेनेटरी प्याड पनि महत्वपूर्णको विषय भएको अर्का छात्रा सुष्मा देवकोटाले बताउनुभयो।
महिनावारी हुँदा एकदम गाह्रो हुने भएकाले अब सेनेटरी प्याडको व्यवस्था भएपछि छात्राहरूले राम्रो शिक्षा हासिल गर्नमा मदत पुग्ने उहाँले बताउनुभयो।

नेपाल सरकारले पनि यस वर्षबाट सम्पूर्ण विद्यालयका किशोरीहरूलाई सेनेटरी प्याड वितरण गर्ने भनेकाले शारदा नगरपालिकाको आफ्नै बजेटबाट नगरभित्रका सम्पूर्ण कक्षा८ देखि १२ कक्षासम्मका विद्यालयहरूमा अध्ययन गर्ने छात्राहरूलाई सेनेटरी प्याड वितरण गरेको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले बताउनुभयो।

महिनावारी भएका बेलामा सेनेटरी प्याड प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले प्रजन्न अंगमा संक्रमण नहोस्, विद्यालयहरूमा छात्राको संख्या नियमित गराउने उद्देश्यले स्वास्थ्यको हिसाबले ल्याइएको एउटा महत्वपूर्ण कार्यक्रम भएको उहाँले बताउनुभयो।