म्याग्दी बस दुर्घटना सबै मृतकको पहिचान खुल्यो

0
Shares

म्याग्दी, (नेस)।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिममा आइतबार साँझ बस दुर्घटनामा परेर गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ।

दुर्घटनामा परेर घाइतेमध्ये ५ जनाको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका अन्य घाइते बेनी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार गरी घर फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दरबाङबाट बिमका लागि छुटेको ग१ख ४४७६ नम्बरको बस बिमको गलघन्टीमा पुगेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा परेर मृत्यु हुने गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीकी विष्णु पाण्डे, मालिका–७, बिम म्याग्दीकी सतदेवी भट्टचन, बालक रवि जुग्जाली र आयुषा जुग्जालीको शव बेनी अस्पतालको शवगृहमा राखिएको छ। मृतकको शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो।

दुर्घटनामा परेर घाइते भएका २८ जना सबैको परिचय खुलेको प्रहरीले जनाएको छ। घुम्तीमा टर्निङ नपुगेर बस दुर्घटना भएको बताइएको छ भने बसका चालक अहिले इलाका प्रहरी कार्यालय दरबाङको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो। बस सडकबाट झन्डै २ सय मिटर तल खसेका बताइएको छ भने बसमा चालकसहित ३३ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ।