स्थानीय जातका गाई संरक्षण गर्न पहिलो गौ महोत्सव

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत।

लोप हुँदै गएका स्थानीय जातका गाईको संरक्षण गर्न मुलुकमै पहिलो पटक पर्वतमा गौ महोत्सव आयोजना गरिने भएको छ। पर्वतको उत्तरी जलजला गाउँपालिका–७ धाइरिङमा नेपालमै पहिलो पटक गण्डकी गोपाल गोरक्षा धनधाञ्याचल विराट् ज्ञानमहायज्ञ एवं गौ महोत्सवको आयोजना गर्न लागिएको हो।

गण्डकी गोपाल गौशाला धाइरिङको आयोजनामा आगामी मंसिर १९ देखि २६ गतेसम्म महोत्सव आयोजना गरिएको हो। स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौ महोत्सव’ आयोजना गरिएको बताइएको छ।

जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रशिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार–प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौ महोत्सव एव् महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार, महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको वश संरक्षण गरिने छ। गौ महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले धार्मिक र पर्यावरणीयरूपमा समेत गाईको महत्व ठूलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवको रूपमा महायज्ञ सञ्चालन गर्नुपरेको बताउनुभयो।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा विसं २०७२ मा धाइरिङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो। अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन्। गौशालाको क्षमता विस्तार गरी लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाई थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिनुभयो।

उहाँले महायज्ञ एवम् गौ महोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससँगै गौशालाको दीर्घकालीन व्यवस्थापनको लागि अक्षयकोषसमेत स्थापना गर्ने उद्देश्य राखिएको बताउनुभयो। महायज्ञमा करिब ५ करोड बढी आर्थिक संकलन गर्ने लक्ष्य लिइएको छ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौ महोत्सव सहयोगी हुने आयोजकले जनाएको छ।

कालञ्जर पर्वतलाई पवित्र तपोभूमिका रूपमा पुराणमा समेत व्याख्या गरिएको छ। मानव सभ्यतासँग जोडिएको गाईको दूध, दही, घ्यू पोषिलो हुने मान्यता रहेको छ। गहुँतको प्रयोगबाट १ सय ४८ किसिमका रोग निदान हुने रसियन शोधकर्ताको अनुसन्धानबाट पुष्टि भएको छ। परम्परागत समाजमा गाई पालन बृहतरूपमा हुँदै आएपनि पछिल्लो समय भने विस्तारै हराउँदै जान थालेको छ।

गाई संरक्षणलाई प्रमुख उद्देश्य राखिएको यस गौ महोत्सवबाट संकलन हुने रकमबाट अहिले धाईरिङमा रहेको गौशालाको क्षमता विस्तार गरी गाईपालनलाई बृहत बनाउने योजना अघि सारिएको छ। मूल आयोजक समितिले धाइरिङदेखि माथि विशाल जंगल रहेको र चरण क्षेत्रको अभाव नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजनाअघि सारेको हो।