पूजा बोहरा सामूहिक बलात्कार प्रकरण : आठ वर्षपछि न्याय पुनस्र्थापनाको ग्यारेन्टी हुनुपर्छ

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।

२०६८ सालमा बैतडीकी बालिका पूजा बोहरा सामूहिक बलात्कारको सिकार भएकी थिइन। एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुबाकी छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते सामूहिक बलात्कारमा परेकी थिइन।

पाटन नगरपालिका–१ साविकको कैलपाल गाविसबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी १४ वर्षीया पूजा एसएलसीको गेसपेपर किन्नका लागि पसलमा जाँदा पसलेबाटै सामूहिक बलात्कारको सिकार भएकी थिइन्।

जगन्नाथ पुस्तक पसलका सञ्चालक सागर भट्ट र चाँदनी फोटो स्टुडियोको सञ्चालक अमर अवस्थीले पूजालाई सामूहिक बलात्कार गरेका थिए। पूजालाई सामूहिक बलात्कार गर्ने दुई जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। सर्वोच्चले गरेको फैसलाले पूजाले आफूले ढिलै भएपनि न्याय पाएको बताइन्। उनले भनिन्– ‘न्याय पाउँछु भन्ने आशा मरिसकेको थियो, ढिलै भए पनि न्याय पाएँ।’

आफू गेसपेपर किन्न गएको याद रहेको र त्यसपछि मलाई के भयो भन्ने थाहै छैन उनले भनिन्– ‘गुमेको होस काठमाडौंमा उपचारपछि आयो’ उनले उक्त घटना सम्झिँदै भनिन्– ‘जीवनमा सबै थोक गुमाएको जस्तो लाग्छ’जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गर्दा निकै खुसी लागेको पूजा बताउँछिन्।

उनले भनिन्– न्यायको खुसी साट्न नपाउँदै फेरि पुनरावेदनमा जानुपर्यो’ ६ जना भाइ बहिनीमध्ये चौथो सन्तान हुन पूजा। आमाबुबाले घरमै खेतीकिसानी गरेर छोरा छोरीलाई पढाइ रहेका थिए। पूजाका बुबा रामसिंह बोहोराले भने– ‘छोरीलाई पढाइलेखाइ गरेर ठूलो मान्छे बनेको हेर्ने धोको थियो, बीचमै यस्तो घटना घट्यो।’

खेती किसानी गरेर जीवन यापन चलाइरहेका पीडितका बुबा रामसिंह पनि ढिलै भएपनि न्याय पाएको बताउँछन् उनले भने– ‘आठ वर्षपछि बल्ल न्याय पाएकोमा खुसी छु।’पढाइ लेखाइ गरेर ठूलो मान्छे बन्ने धोको थियो पूजाले भनिन्– ‘पढाइ गर्दै गर्दा बचमै ठूलो घटना घट्यो।’घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकै बेला बलात्कारको सिकार हुँदा आफैलाई संसारै छोड्छु लाग्थ्यो उनले भनिन– ‘तर जीवनदेखि हार खाइन लड्दै गएँ, न्याय पाएँ।’

सर्वोच्चमा मुद्दा लामो समयसम्म लम्बिँदा पूजालाई धेरै समस्या भयोे। काठमाडौंमा ६ वर्षसम्म रक्षा नेपाल संस्थाले जिम्मेवारी लिएको भए पनि पछि संस्थाले आफूमाथि गलत दृष्टिकोणले हेरेको पूजाको भनाइ छ। मलाई उक्त संस्थाले पढ्ने तथा बस्ने व्यवस्था गरेको थियो उनले भनिन– ‘पछि केही दिन मसाज सेन्टरमा काम गर्ने केटीका कोठामा राखेको थियो।

पूजा हाल कानुन विषयमा स्नातक तहको चौथो वर्षमा अध्यानरत छिन्। गएको दुई वर्षदेखि उक्त संस्थाबाट निस्किएर होस्टल बस्ने गरेको पूजाले बताइन्। कलेज पठ्दा पनि आर्थिक अभावमा ७ महिनासम्म शुल्क तिर्न नसकेको स्मरण गर्दै उनले भनिन– ‘कलेजमा पनि सबै समस्या भन्नुपथ्र्यो, म यस्तो समस्याबाट यहाँसम्म पुगें भनेर।’दुई वर्षदेखि घरपरिवारले र दाङ तुलसीपुर घर भई हाल अमेरिकामा बस्दै आएका लिला डाँगीले सहयोग गर्दै आएका छन्।

समाजमा बस्न अझै कठिन

सामूहिक बलात्कारमा परेकी पूजालाई अझैं पनि समाजमा घुलमिल हुन असहज महसुस भएको छ। समाजले आफूमाथि अझैं पनि गलत हिसाबले हेर्ने गरेको उनले सुनाइन् उनले भनिन– ‘घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ।’

जान्ने सुन्नेले गाउँघरमा सहयोग गर्ने भएपनि अझै घुलमिल भएर गाउँमा बस्न कठिन छ। गाउँघरका मान्छेलाई बुझाउनुपर्छ उनले भनिन– ‘कुरा बुझाउन सक्यो भने विश्वास गर्छन।’
‘सर्वोच्चले दोषीलाई गरेको कैद सजाय र जरिवानाले मात्रै पूर्णरूपमा न्याय पाएको अनुभुति हुन सकेको छैन,’ उनले भनिन्– ‘दोषीले पाएको कैद सजाय र जरिवानाले मात्रै मैले न्याय पाउँदिन, समाजमा पुर्नस्थापनाको ग्यारेन्टी हुनुपर्छ।’

कानुन नै फितलो छ, पुर्नस्थापना हुने कुनै ग्यारेन्टी छैन बलात्कार पीडितले यो समाजमा कसरी घुलमिल गर्ने र कसरी बाँकी जीवन बिताउने ? भन्ने सोचेर केही गरिदिने हो भने बल्ल न्याय महसुस हुन्थ्यो होला।‘पावर र पहुँचको भरमा न्याय पाइन्छ यो देशमा,’ उनले भनिन– ‘मलाई आठ वर्षसम्म पनि अल्मलायो, सामान्य हिसाबले न्याय मिल्ला भनेर कसैले आशा नगरे हुन्छ।’

कानुन पीडितलाई न्याय दिने भन्दा पनि दोषीलाई सजाय दिने खालको मात्रै छ। हाम्रो जिम्मेवारी सरकारले लिनुपर्ने हो। हामी पीडित पहिलेको सामान्य अवस्थामा फर्किनै सक्दैनौं। त्यसैले अदालतले दोषीलाई सजाय गरिरहँदा पीडितको मुख्य अविभावक राज्य बनिदिनुपर्छ।

बलात्कार भएपछि घरपरिवार सबै छोड्नुपर्छ, गाउँ समाजमा फर्किएर पहिलेको अवस्थामा पुग्नै नसकिने संरचना छ। अदालतले न्याय दिन ढिलाइ गरेको गुनासो गर्दै उनले भनिन– न्याय दिने कुरा त छिटो दिनुपर्छ, न्यायमा राजनीति हुनुहँुदैन।

घटना र आठ वर्षसम्म यसरी लम्बियो केस

२०६८ चैत ९ गते गेसपेपर किन्न स्टेसनरी पसलमा गएका बेला लागूपदार्थ मिसावट गरी खुवाएर बेहोस बनाइ बलात्कार गरियो। बलात्कृत भएकी बोहोरा पसल नजिकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन्। अभियोगमा भट्ट र अवस्थीविरुद्ध उजुरी परेको थियो।

घटनापछि प्रहरीले जाहेरी लिन मानेन। विद्यालयका प्राध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर प्रहरीले लिएन। विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीलाई प्रहरीले पक्राउ गरेर र मुद्दा चलाएको थियोे। बोहराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा निवेदन परेको थियो।

बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहोराको अस्पतालमा उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो। त्यसपछि प्रहरीले पूजाको बलात्कारमा संलग्न २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। प्रहरीको अनुसन्धानपछि बैतडी जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो।

पीडितको उपचार, मेडिकल रिपोर्ट र घटना प्रकृति मुचुल्का प्रतिवेदनबाट उनीमाथि बलात्कार भएको तथ्य खुलेको थियो। विसं २०६९ फागुन २२ गते जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०–५० हजार रुपियाँ जरिवानाको फैसलो सुनाएको थियो।

बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो।

तर त्यस फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ। पुनरावेदनको फैसलाविरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गरेकी थिइन। सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्ट्याउँदै जिल्ला अदालत बैतडीको फैसलालाई सदर गरेको हो।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको हो।