नेकपाको पार्टी कार्यालयमा तालाबन्दी कार्यकर्ता र नेताको भावनाविपरीत ढकाललाई उम्मेदवार बनाएको आरोप

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा टिकटको विषयलाई लिएर आज भक्तपुरमा नेकपाको पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ।भक्तपुर क्षेत्र नं १ ‘क’ मा हुने उपनिर्वाचनमा टिकटका विषयलाई लिएर चाँगुका नेता–कार्याकर्ताले नेकपाको पार्टी कार्यालयमा बिहान तालाबन्दी गरेका हुन्।

हिजो बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले भक्तपुर क्षेत्र नं १ ‘क’ मा हुने उपनिर्वाचनमा भक्तपुर जिल्ला सचिव देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेसँगै भक्तपुर नेकपा पार्टी कार्यालयमा तालाबन्दी गर्दै नेता कार्याकर्ताले आक्रोस पोखेका हुन्।

तालाबन्दीमा आएका नेता कार्यकर्ताले उपनिर्वाचन क्षेत्रका कार्यकर्ता र नेताको भावनालाई नसमेटेको भन्दै निर्णय फिर्ता लिन आग्रह गर्दै नाराबाजी गरेका थिए। विगतको प्रदेशसभाको निर्वाचनमा नेकपाको तर्फबाट बागी उम्मेद्वारसमेत बनेका ढकाललाई उपनिर्वाचनमा केन्द्रले टिकट दिएपछि नेता कार्यकर्ता रुष्ट बनेको तालाबन्दीमा आएका नेकपा भक्तपुरका जिल्ला कमिटीका सदस्य साधुराम दाहालले बताए।

नेकपाले उप निर्वाचन हुन लागेको यो स्थानमा उम्मेदवारको लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र नारायणी फुँयाल र डीपी ढकालकको नाम केन्द्रलाई सिफारिस गरेको थियो। उनले भने, निर्णय फिर्ता नलिए यसले उपनिर्वाचनमा ठूलो असर पार्ने र बेलैमा केन्द्रले सोच विचार नगरे परिणाम सोचेभन्दा पार्टीका लागि घातक बन्ने छ।

२ सय नेता तथा कार्यकर्ताले हस्ताक्षर गरेको बिज्ञप्तिमार्फत उनीहरूले निर्णय तत्काल फिर्ता लिई जिल्लाले सिफारिस गरेकामध्ये उपयुक्त उम्मेदवारलाई टिकट दिन माग गरेका छन्। निर्वाचन हुन लागेको क्षेत्रमा विगतमा नेकपाका तर्फबाट हरिशरण लामिछानेले जितेका थिए। उनको मृत्यु पश्चात रिक्त रहेको सो स्थानमा उपनिर्वाचन हुन लागेको हो।