बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

बेलायतको संसदमा नेपाल भ्रमण वर्ष २०२० को बारेमा जानकारी गराइने भएको छ। बेलायतस्थित हाउस अफ लर्ड्समा भ्रमण वर्षको प्रचारप्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।

बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसक्नुभएको छ। मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीको पनि सहभागिता रहेको छ।

प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम)को अवसरमा बेलायतमा आउँदो कात्तिक २१ गते हुने नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि विशेष कार्यक्रम राखिएको सचिवालयले जनाएको छ। विश्वकै ठूलो ‘ट्राभल सो’ मानिएको यो मेला आजदेखि शुरू भएको छ। तीन दिनसम्म चल्ने मेलामा नेपालको समग्र पर्यटन प्रवद्र्धनका सामग्री तथा खानाका परिकारको समेत प्रदर्शनी गरिने बोर्डले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा योगदान दिने बेलायती नागरिकहरूलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गर्ने कार्यक्रम रहेको छ।
बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दीपकुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै लामो समयदेखि नेपालमा पर्यटकहरू पठाउने प्रमुख बेलायती टुर अपरेटरलाई कदरपत्र प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ। अवार्ड तथा कदरपत्र मन्त्री भट्टराईले वितरण गर्नुहुनेछ। त्यसैगरी ट्राभल एजेन्ट तथा होटेल व्यवसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागिपरेका मर्कस कट्टन, नेपालको वन्यजन्तु पर्यटनमा काम गर्दै आएका एभी जीम एडवार्ड, नेपालको पर्यटन गन्तव्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल पर्यटनका अग्रणी कोलोनेल जोमलाई ‘दी हिमालयन’ अवार्ड वितरण गरिनेछ।