बाघको छालासहित दुई पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आयो। वन्यजन्तुको अंगको अन्तर्राष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सीआइबीले योजना बनायो।

कारोबारी पक्राउ गर्न सहज नहुने देखेपछि सीआइबीको टोलीले ग्राहक बनेर जाने निर्णय गर्यो। सोही योजनाअनुसार पहिले वन्यजन्तुको छाला हेर्ने अनि मोलतोल गर्ने भनेर उनीहरूलाई प्रहरीले काठमाडौं बोलायो।

सीआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भन्नुभयो– ‘उनीहरूलाई हामीले ग्राहक बनी बोलाएर पक्राउ गरेका हौं,’ उनीहरूको गतिविधि काभ्रेमा थियो, भेटौं–हेरौं अनि कुरा गरौंला भन्ने कुरा भयो, त्यसपछि उनीहरू आए। सोही क्रममा चरीबाघको छालासहित काठमाडौंको सिनामंगलमा भेटेर प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्न सफल भएको छ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको धुलिखेल बस्ने सरोज लम्साल र रामेछापको दोरम्बा बस्ने सुरेन्द्र श्रेष्ठ रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो।’उनीहरूलाई थप कारबाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको उहाँले बताउनुभयो।

प्रहरीले उनीहरूको साथबाट वन्यजन्तुको छालासमेत बरामद गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरूविरुद्ध कारबाही गरिने जनाइएको छ।