उपकुलपतिद्वारा पदभार ग्रहण 

0
Shares

काठमाडांै, (नेस)।

त्रिभुवन विश्वविद्यालयको १९औं उपकुलपतिमा प्राडा धर्मकान्त बास्कोटाले सोमबार ३ बजे पदभार ग्रहण गर्नुभएको छ। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आइतबार प्राडा बास्कोटालाई त्रिवि उपकुलपति पदमा नियुक्त गर्नुभएको थियो।चिकित्साशास्त्र अध्ययन संस्थानमा नाक, कान र घाँटी रोगका विज्ञेषज्ञ डा. बास्कोटा २०३६ साल वैशाख २६ गते सहायक प्रशिक्षक पदबाट त्रिवि सेवामा  प्रवेश गर्नुभएका थियो।

उहाँ २०६६ सालदेखि प्राध्यापकमा बढुवा हुनुभएको हो। पदभारलगत्तै उहाँले उपकुलपति बास्कोटाले मन, धन र कर्मले प्रतिबद्ध भई नेतृत्वको प्रमुख काम भिजन सिर्जना गरी स्रोत जुटाउने र त्रिविलाई विश्वमा चिनाउने दायित्व निर्वाह गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसै गरी निष्पक्षता, पारदर्शिता, सामूहिकता र जवाफदेहितासहितको काम गर्ने गराउने कार्यमा सबैसँग मिलेर अघि बढ्ने चाहनासमेत व्यक्त गर्नुभएको थियो। उहाँले त्रिविमा भौतिक पूर्वाधार निर्माणमा समस्या रहेको उल्लेख गर्दै प्राध्यापनको वातावरण सिर्जना गर्दै आवश्यकताअनुसार नीतिनियम संशोधन गरी शैक्षिक क्यालेन्डर नियमित गर्ने र पाठ्यक्रम सुधार गर्ने कार्ययोजनालाई रोडम्याप बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनियुक्त उपकुलपतिलाई स्वागत गर्दै त्रिविका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले विगतभन्दा फरक ढंगले नेतृत्व दिएर निरन्तरताको क्रमभंग गर्नुपर्ने आश्यकता औंल्याउँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। रजिस्ट्रार डिल्लीराम उप्रेतीले त्रिविमा सुधारका अनेकौं प्रयास जारी रहेकोमा नवनियुक्त उपकुलपतिको नेतृत्वमा त्रिविको आज रहेको साखलाई भोलि पनि कायम राख्न सकिने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।