शोकमा काटाकुटी गाउँ 

0
Shares

चिरञ्जीवी मास्के, दोलखा।
दोलखा सदरमुकाम चरिकोटको कालिञ्चोक माविबाट भर्खरै एजुकेसन साइन्समा उत्कृष्ट अङ्कसहित १२ कक्षा सकेकी कविता राउतको लक्ष्य सरकारी जागिर खाएर अधिकृत बन्ने थियो।
सरकारी जागिरका लागि तयारी कक्षा लिने र स्नातक तहको पढाइका लागि सानोठिमी क्याम्पस भक्तपुरमा भर्ना हुने लक्ष्यसहित काटाकुटी घरबाट आइतबार बिहान हाँसीखुसी बस चढेकी कविताको अधिकृत सपना सुकुटेमा डुबेको बससँगै सकिएको छ।
आइतबार बिहान छोरीलाई हासीखुसी बिदा गर्नुभएको कविताको आमा अम्बिका राउत बस दुर्घटनामा छोरीको मृत्यु भएको खबर सुनेदेखि छिनछिनमा बेहोस् हुने गर्नुहुन्छ मृतक कविताको फुपु सरस्वती राउतले भन्नुभयो– ‘तर के गर्नु अब जति पीर गरे पनि हाम्रो फूलजस्तै हँसिली नानी फिर्ता आउँदिनन्।’

दुर्घटनामा मृत्यु भएका रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काको एक्लो छोरा हुन्। दुईवटा विवाहबाट समेत बालबच्चा नभएपछि तेसो विवाह गरेका हरिबहादुरको ५० वर्षको उमेरमा जन्मिएको एक्लो छोराको समेत दुर्घटनामा मृत्यु भएपछि उनी पाको उमेरमा अघात पीडासहित छटपटाइरहेका छन्।

आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको यात्रुवाहक बस दुर्घटनामा परी काटाकुटीको मात्र ९ जनाको मृत्यु भएपछि शोकमग्न काटाकुटी गाउँ सुनसान बनेको छ। ‘गाउँका धेरै मानिस दुर्घटनास्थल सिन्धुपाल्चोक गएका छन् त्यसैले शोकमग्न यो गाउँ सुनसान जस्तै बनेको छ।’ –काटाकुटीका स्थानीय ६९ वर्षीय बिर्खबहादुर खत्रीले भन्नुभयो।

आइतबार बिहान सबेरै कवितालगायतका गाउँले हाँसीखुसी परिवारसँग बिदा माग्दै काठमाडौं यात्राका लागि बसमा चढेको देखेका बिर्खबहादुर ९ जनाको मृत्युको खबरले सिंगो गाउँ शोकमा डुबेको बताउनुहुन्छ।

आइतबार विहान ८ः३० बजे शैलुङ गाउँपालिका–४ बागखोरबाट काठमाडौंका लागि छुटेको शैलुङ यातायातको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडक खण्डबाट सुनकोसी नदीमा खसेर दुर्घटना हुँदा वडा नम्बर ५ काटाकुटीको ५२ वर्षीय चेतकुमारी बस्नेत, उनको भदा १४ वर्षीय रिकेश खड्का, ४५ वर्षीय रत्नकुमारी राउत, उनको छोरा २९ वर्षीय किरण राउत, २० वर्षीय कविता राउत, ३८ वर्षीय सानु राउत आले, २४ वर्षीय रञ्जिता केसी बस्नेत, ३२ वर्षको निर्मला खड्का र १४ वर्षको निकेश खड्कासहित ९ जनाको मृत्यु भएको वडा नम्बर ५ का वडाध्यक्ष किरण बस्नेतले बताउनुभयो।

दुर्घटनामा शैलुङ गाउँपालिका वडा नम्बर ४ को ६ वर्षको सलिना तमाङ, १४ वर्षको दियुन लामा (दिल) र ५ वर्षको सजिना तमाङ गरी तीन जना, वडा नम्बर ३ बागखोर माइती भएको २७ वर्षको चमेली श्रेष्ठ (घर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४), उनको छोरी ६ वर्षको सायरानी श्रेष्ठ र वडा नम्बर ३ कै तीन महिनाको बालक सिसन तामाङसहित तीन जना, वडा नम्बर २ को ७० वर्षको उरमाया मोक्तान, चितवन जिल्लाको पटिहानीको ५६ वर्षीय पूजा बस्नेत र उदयपुर जिल्ला चौरन्डी नगरपालिका–६ को २३ वर्षीय विजय तामाङ गरी जम्मा १८ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो।

दुर्घटनामा १५ जनाको घटना स्थलमै, दुई जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र एक जना उदयपुरका विजय तमाङको शव सोमबार दुर्घटनास्थलभन्दा केही तल भेटिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो।

शैलुङ गाउँपालिकामा रहेको बागखोर उद्योग वाणिज्य संघका सचिव कमल श्रेष्ठ बस समितिले कच्ची बाटोमा पुरानो बस राख्ने, थोरै संख्यामा बस राख्ने र क्षमताभन्दा बढी यात्रु राख्ने गरेका कारण दुर्घटना हुने गरेको उल्लेख गर्दै सरकारले त्यस्ता समिति र बसका चालक तथा साहुलाई कारबाही गर्नुपर्ने बताउनुहुन्छ।