कुपोषणविरुद्धको पाँचौ विश्वसम्मेलन काठमाडौंमा शुरू 

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

कुपोषणसम्बन्धी अवस्थाको सुधार्न र कुपोषण न्यूनीकरणमा भइरहेका प्रयासबारे सशक्त हातेमालो गर्न सोमबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ। ‘पृथ्वी र मानव जाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरू भएको चारदिने जमघटमा एक–अर्को मुलुकमा भइरहेका ज्ञान र अनुभव बाँड्न विभिन्न ६१ मुलुकका प्रतिनिधि नेपाल आएका छन्। पोषणका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि र कुपोषण न्यूनीकरणका भएका प्रयासको समीक्षा गर्दै लागि आगामी दिनको रणनीति तयार गर्न काठमाडौं जमघट केन्द्रित हुनेछ।

संयुक्त राष्ट्रसंघका विभिन्न नियोग, पोषणसम्बन्धी कार्यक्रमको विश्वव्यापी सन अभियान, सरोकारवाला सरकारी र गैरसरकारी निकायको पहलमा यस्तो सम्मेलन हरेक दुई वर्षको अन्तरमा हुँदै आएको छ। दक्षिण एसियामा पहिलोपटक नेपालमा यस्तो जमघट भएको हो।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भोकमरी, खाद्य सुरक्षा र कुपोषणविरुद्धको अभियानमा अझ सशक्त ढंगबाट अघि बढ्न काठमाडौं सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

पोषणको स्थिति कमजोर भएका नेपालका सातवटै प्रदेशका विभिन्न ६२ जिल्लाका स्थानीय तहमा सचेतनासहित पोषण कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले भौगोलिक विकटता र पूर्वाधारको जटिलताले सचेतना मुलुक अभियानमा अपेक्षित सुधार आउन नसकेको बताउनुभयो।
सन् २०३० भित्र नेपाल मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यमा रहेकाले सो अवधिसम्ममा कुपोषणको अवस्थामा उल्लेखनीय सुधार आउने पोखरेलको दाबी थियो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने तयारी गरिए पनि उहाँ अस्वस्थ भएपछि कार्यक्रममा उपस्थित हुन सक्नुभएन।

विश्वमा पाँच वर्षमुनिका प्रत्येक तीन जना बालबालिकामध्ये एक जना पुड्कोपन, ख्याउटे, मोटोपनजस्ता कुपोषणले ग्रसित रहने राष्ट्रसंघलगायतका संघ–संस्थाको तथ्यांक छ। तीन वर्षअघिको नेपालको स्वास्थ्य सर्वेक्षणअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपनको समस्या पाइएको थियो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रसंघीय बाल कोषकी कार्यकारी निर्देशक एवं सन अभियानकी अध्यक्ष हेनरिटा फोरले जलवायु परिवर्तनले पहाडी मुलुकका खाद्यान्न उत्पादन प्रभावित बन्न थालेको बताउनुभयो। राष्ट्रसंघको पहलमा सन् २०१० मा सन् अभियान शुरू भएको थियो।

स्विट्जरल्यान्डको जेनेभामा सचिवालय रहेको सो अभियानमा नेपालले सन् २०११ देखि सदस्यरूपमा आबद्ध भएको थियो। यस्तो अभियानमा विश्वका विभिन्न ६१ मुलुक सदस्य छन्। राष्ट्रिय योजना आयोगले संयोजन गरेको पाँचौं सम्मेलनमा उच्चस्तरीय सरकारी प्रतिनिधि, नीति निर्माता, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, पोषणसम्बन्धी विज्ञ सहभागी छन्।