पूर्वउपप्रधान गृह/सञ्चार/अर्थ/परराष्ट्रमन्त्री निवर्तमान सभामुख महरा कारागार चलान

0
Shares

सुरेश तामाङ, काठमाडौं।

करणी उद्योग गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

उक्त अदालतका जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डको इजलासले महरालाई थुनामा राख्ने आदेश सुनाएको हो।

यससँगै यो मुद्दाको टुंगो नलागेसम्म महरा जेलमा बस्नुपर्ने हुन्छ।संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगका अभियोजनकर्ता सरकारी वकिल र महराको पक्षमा कानुन व्यवसायीहरूको बहस सुनिसकेपछि इजलासले यस्तो आदेश सुनाएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

महराविरुद्ध परेको मुद्दाको थुनछेक बहस आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको थियो। थुनछेक बहसको पहिलो दिन अभियोजनकर्ताको पक्षबाट बहस टुंग्याए पनि प्रतिवादी महराको पक्षबाट भने दुई जना वरिष्ठ अधिवक्ताले बहस गर्न भ्याएका थिए भने अन्यले बहस गर्नुपर्ने र समयको अभावले गर्दा इजलासले सोमबारलाई निरन्तरतामा राखेको थियो।

महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शेरबहादुर केसी, लव मैनाली, कृष्णप्रसाद सापकोटा, भोजराज सापकोटा, सविता रेग्मीले बहस गर्नुभएको थियो।

आदेशसँगै महरालाई सोमबार साँझ डिल्लीबजार कारागार चलान गरिएको छ। तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको इजलासले निष्कर्ष निकालेको छ।

थुनछेक आदेशमा भनिएको छ– ‘घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरूको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादीले आरोपित कसूर नगरेको भनी अहिले नै निष्कर्षमा पुग्न मिल्ने देखिएन।

पीडित महिलाको उजुरीपछि असोज १९ मा महरा पक्राउ परेका थिए भने २५ दिन अनुसन्धान टुंग्याएर गएको बिहीबार दर्ता गरिएको अदालतमा अभियोगमा महरालाई जबरजस्ती करणी उद्योग अभियोग लगाउँदै साढे सात वर्षसम्मको कैद सजाय माग दाबी गरिएको थियो।

संघीय संसद्को निर्वतमान सभामुख रहनुभएका महरा २०३६ देखि वाम राजनीतिमा लागेका थिए। २०५२ देखि भूमिगत भएका महरा विकट जिल्ला रोल्पाको लिबाङमा १२ वर्षसम्म पढाएका थिए।

२०४८ को आमनिर्वाचनबाट रोल्पा–२, २०६४ को संविधानसभा निर्वाचनमा दाङ–३ र संविधानसभामा रोल्पा–१ बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने नेता थिए।तत्कालीन सरकार–माओवादी द्वन्द्वमा पहिलो वार्तामा माओवादीका तर्फबाट वार्ता टोलीको संयोजक बनेका महरा २०६४ मा पार्टीको तर्फबाट संसदीय दलको नेता थिए।

उनी पटक–पटक सूचना तथा सञ्चारमन्त्री बनेका पूर्वउपप्रधान एवं गृह, अर्थमन्त्रीसमेत भएका थिए।उनी एमालेसँग एकीकृत हुनुअघि माओवादीको महासचिव तथा पटक–पटक पार्टीको प्रवक्तासमेत बनेका थिए।