कालीगण्डकी करिडोरको फलेबास –अर्मादी खण्डको काम अलपत्र

0
Shares

दुर्गाप्रसाद शर्मा ,पर्वत ।

पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबास देखि अर्मादी सम्मको काम लामो समय देखि अलपत्र परेको छ । दुई बर्ष अघि नै ट्रयाक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्रे गर्ने कार्य समेत पछि धकेलिने भएको छ ।

निर्मााणको काम गर्ने जिम्मा लिएको सुर्य कन्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेर हिडेको छ । २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सडकको जिम्मा लिएको सूर्य कन्ट्रक्सनले काम बीचैमा छोडेर सम्पर्क विहीन भएको लामो समय बित्यो ।

कन्स्ट्रक्सनले जिम्मा लिएको १४ किमि सडक सबैभन्दा धेरै बिग्रिएको कालीगण्डकी करिडोरको कार्यालयले जनाएको छ । कन्स्ट्रक्सनले फलेबास नगरपालिकाको लमायदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको १४ किमि ठेक्का लिएको हो ।

काम सकिनुपर्ने समयभन्दा एक वर्ष ढिलासम्म ट्रयाक नखोलेपछि पाल्पास्थित कार्यालयले कम्पनीलाई जरिवानासहित मिति थपेको थियो । थपिएको मिति आगामी मंसिरमा सकिँदैछ ।
पाल्पास्थित करिडोर कार्यालयका प्रमुख नरेन्द्र सुवेदीका अनुसार ठे

क्का सम्झौता मितिमा काम नसकेपछि कन्स्ट्रक्सनलाई जरिवानासहित मिति थपिएको थियो । ‘थपिएको मिति मंसिरमा सकिँदैछ,’ सुवेदीले भन्नुभयो ‘त्यहाँसम्म काम नसके ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने हो ।’ १४ किमि ट्रयाक, नाली र आवश्यक अरु संरचना निर्माणका लागि कम्पनीले ९ करोड १७ लाख ४९ हजार २ सय ४५ को लागतमा ठेक्का लिएको हो ।

पर्वतको रानीपानी देखि अर्मादी सम्म कालोपत्रे गर्नका लागि पहल भैरहेको छ । रानीपानी देखि फलेबास सम्म सडक चक्लाबन्दी कार्य समेत तीब्र पारिएको छ तर फलेबास अर्मादी खण्डमा काम नहुँदा कालोपत्रे गर्ने कार्य पछि धकेलिने भएको छ ।

गृह जिल्ला आउनु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ट्रयाक खोल्ने काम सम्पन्न गर्नका लागि आबश्यक पहल र्न प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई निर्देशन दिनुभयो ।

उहाँले यो बर्ष ट्रयाक खोल्ने काम सम्पन्न भएमा आगामी बर्ष कालोपत्रेका लागि टेण्डर आब्हान गर्न सकिने भएकाले समयमा काम सक्न आबश्यक भएको कुरामा जोड दिनुभयो ।
मोदीबेनीदेखि अर्मादीसम्मको तीन किमि ट्रयाक अझै खुलेको छैन ।

‘सडक अलपत्र पार्ने जोसुकै भए पनि कारबाही हुनुपर्छ,’ फलेवास–४ का कृष्णप्रसाद लम्सालले भन्नुभयो ‘पैसा लिएर अलपत्र पार्नेलाई ठेक्का किन दिने । राष्ट्रिय गौरवको आयोजना भनेर पैदल हिंड्न पनि पाइएन ।’

आयोजना कार्यालयका अनुसार ठेकेदारले ३० प्रतिशतभन्दा बढी काम गरेको छैन । काम अलपत्र पारेपछि आयोजना कार्यालय ठेकेदार कम्पनीलाई कारबाहीको तयारीमा छ । व्यावसायीले काम सुरु नगरेपछि गत जेठ ४ मा १० प्रतिशत जरिवानासहित आयोजना कार्यालयले म्याद थप गरेको थियो ।

कार्यालयका अनुसार कन्स्ट्रक्सन कम्पनीले प्रतिदिन ४५ हजार ९ सयका दरले जरिवाना तिर्नुपर्छ । पर्वतमा ७६ किमि दुरी समेट्ने यो सडकले जिल्लाका एक नगरपालिका र ३ गाउँपालिका समेट्छ ।