स्थानीय जातका गाई संरक्षण गर्न पहिलो गौ महोत्सब

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत ।

लोप हुँदै गएका स्थानीय जातका गाईको संरक्षण गर्न मुलुकमै पहिलो पटक पर्वतमा गौ महोत्सब आयोजना गरिने भएको छ । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको आयोजना गर्न लागिएको हो ।

गण्डकी गोपाल गौशाला धाइरिङ्गको आयोजनामा आगामी मंसिर १९ देखि २६ गते सम्म आयोजना गरिएको हो । स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना गरिएको आयोजकले जनाएका छन ।

जलजला गाउँपालिका –७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । गौमहोत्सवको तयारीबाट जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले धार्मिक र पर्यावरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिनुभयो ।

उहाँले महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको बताउनुभयो । महायज्ञमा करिब ५ करोडबढी आर्थिक संकलन गर्ने लक्ष्य लिईएको छ ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ ।

कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ । मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेको छ । गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुन रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएको छ ।

परम्परागत समाजमा गाईपालन बृहत रुपमा हुँदै आएपनि पछिल्लो समय भने विस्तारै हराउँदै जान थालेको छ ।गाई संरक्षणलाई प्रमुख उदेश्य राखिएको यस गौमहोत्सवबाट संकलन हुने रकमबाट अहिले धाईरिङमा रहेको गौशालाको क्षमता विस्तार गरि गाईपालनलाई बृहत बनाउने योजना अघि सारिएको छ ।

मुल आयोजक समितिले धाईरिङदेखि माथि विशाल जंगल रहेको र चरण क्षेत्रको अभाब नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजना अघि सारेको हो ।