झापालाई हराएर पुलिस क्वार्टरफाइनलमा

0
Shares

नेपाल समाचारपत्र, बिर्तामोड।

घरेलु दर्शकको समर्थन पाएको झापा ११ एफसीलाई निरास पार्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले झापालाई २–१ गोलले हराएको हो।

विभागीय टोलीकोे जितमा सुमन लामा र सौजन याख्खाले गोल गरेका हुन्। खेलको छैटौं मिनेटमै झापाका निरज बस्नेतले प्रहार गरेको बल गोलापोस्टबाट फर्किंदा गोल गर्ने अवसर गुमाएको थियो।

त्यसपछि पाएका अवसरमा पनि पुलिसको गोलपोस्टमा आक्रमण बुनेको झापाले गोल गर्न सकेन। तर, खेलको १३औं मिनेटमा पाएको फ्रिकिकबाट पुलिसले अग्रता बनायो।

घरेलु टोलीका खेलाडीले डिबक्स नजिक गरेको फाउलमा सुमनको फ्रिकिक प्रहारबाट पुलिसले अग्रता लिएको हो।

३०औं मिनेटमा पुलिससँग बराबरी गर्ने अवसर झापाका कप्तान योगेश गुरुङले खेर फाले। उनले प्रहार गरेको फ्रिकिक बाहिरिएको थियो।

यसको एक मिनेटमा सुशील राईको क्रसमा मिलन राईको हेडर पोलबाट थोरै बाहिरिँदा झापाली दर्शक निरास बनेका थिए।

एक गोलको अग्रताले मनोबल उच्च बनाएको पुलिसका खेलाडीले झापाली रक्षकको बिग्रेको तालमेलको फाइदा उठाउँदै काउन्टर अट्याकलाई रणनीति बनाएको थियो।

खेलको ३८औं मिनेटमा पुलिसका सौजनले रित्तो पोस्टमा गोल गर्न नसक्दा अग्रता दोब्बर बनाउन चुकेको थियो।

तर, उनले यसको भर्पाइ दोस्रो हाफमा पूरा गरे। उनले ५९औं मिनेटमा झापाली गोलरक्षक किशोर गिरी बिट भएको अवस्थामा गोल गरेका हुन्। निरज बस्नेतले रोक्ने प्रयास गरे पनि बलले जाली चुमिसकेको थियो।

झापाले ७४औं मिनेटमा गोल फर्काएर गोलअन्तर खुम्च्याएको थियो। पुलिसका गोलरक्षक शत्रुधन चौधरीसँग वान भर्सेज वानमा झापाली कप्तान योगेशले गोल गरेका थिए।

उनको गोलले खेलमा फर्किने प्रयास भए पनि अर्को गोल नहुँदा टोलीले पुलिससामु २–१ मै नतिजा सुम्पन बाध्य भएको थियो। खेलको म्यान अफ दी म्याच पुलिसका सौजन याख्खा घोषित भए। उनले नगद १० हजार पाए।

विजेताले १२ लाख पाउने

जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन्। आइतबार झापा ११ एफसीले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।

विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ। विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन्।