अग्रता लिएर पनि बार्सिलोना पराजित

0
Shares

लन्डन, (एजेन्सी) ।

अग्रता लिएर पनि स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना पराजित भएको छ। शनिबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३–१ गोलअन्तरले पराजित भएको हो। बार्सिलोनाका लागि खेलको ३८औं मिनेटमा लियोनल मेसीले गोल गरेर अग्रता दिलाएका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।

पहिलो हाफमा १–० गोलले अग्रता लिएको बार्सिलोनालाई घरेलु टोली लेभान्टेले ३ गोल फर्काएर स्तब्ध तुल्याएको थियो। ६१औं मिनेटमा क्यामपानाले बराबरी गोल फर्काए। त्यसको २ मिनेटभित्रै मायोरलले गोल गर्दा लेभान्टेको अग्रता बन्यो। ६८औं मिनेटमा राडोजाले गोल गर्दा लेभान्टेले ३–१ को जित निकाल्यो।

शनिबार राति नै भएको अर्को खेलमा रियल मेड्रिड भने रियल बेटिससँग बराबरीमा रोकियो। घरेलु मैदानमै बेटिससँग अंक बाँड्दै मेड्रिडले शिर्ष स्थानमा उक्लने अवसरसमेत गुमाउन पुग्यो। त्यस्तै अर्को खेलमा भ्यालेन्सियाले स्पान्योललाई २–१ गोलले पराजित गर्यो।

३१औं मिनेटमा रोकाको गोलबाट अग्रता लिएको स्पानयोलविरुद्ध परेजोले ६९औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा ल्याए। गोमेजले ८०औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई २–१ को जित दिलाए। योसँगै बार्सिलोना र रियल मेड्रिड समान २२ अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै समान २१ अंकसहित एथ्लेटिको र सेभिया तेस्रो र चौथो स्थानमा छन्।