आईओएफटीसी अमेरिकाको मिचिगनमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

ज्योति एभरेस्ट तेक्वान्दोको आयोजनामा अमेरिकाको इस्टर्न मिचिगन युनिभर्सिटीमा १३औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीप (आईओएफटीसी) हुने भएको छ।
आगामी २०२० मे १ र २ हुने प्रतियोगितामा नेपालबाट ५ खेलाडीको सहभागी हुनेछन्।

गत कात्तिक १ र २ गते चितवनको रत्ननगरमा भएको तेस्रो खुला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो। सो प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङका शैलेशराज गिरी, कोटेश्वर तेक्वान्दो डोजाङका रञ्जित साउद, मैत्री तेक्वान्दो डोजाङका दिनेश सुनार, सीतापाइला तेक्वान्दो डोजाङकी आयशा तामाङ र कोटेश्वर तेक्वान्दो डोजाङकी सुस्मिता मोक्तान इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका लागि छनोट भएका हुन्।

मिचिगनमा खेल्न छनोट भएका यी खेलाडीले आईओएफटीसीकै प्रायोजनमा जनही १–१ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरिसकेका छन्।आईओएफटीसी संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले नेपाली खेलाडीलाई प्रतियोगितापूर्व एक महिना पोखरामा बन्द प्रशिक्षणमा राखिने जानकारी गराए।

प्रतियोगिता आयोजनाका लागि १ सय ५ सदस्यीय मूल आयोजक समितिका साथै विभिन्न उपसमिति पनि गठन भइसकेको जानकारी दिइयो। प्रतियोगिता सञ्चालन गर्न कुल बजेट १ करोड २० लाख रुपियाँ रहेको छ।

तेक्वान्दो प्रशिक्षक तथा प्रतियोगिताका संयोजक लवप्रसाद गोर्खालीले प्रतियोगितामा नेपाल, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, दक्षिण कोरिया, मेक्सिकोलगायत २५ राष्ट्रले भाग लिने पक्का भइसकेको जानकारी गराएका छन्।

उनका अनुसार प्रतियोगितामा करिब ७ सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ।प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान आठ–आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। जुनियरतर्फ महिला र पुरुष गरी दश–दश तौल समूह र क्याडेट वर्गमा दश–दश तौल समूहमा खेलाइनेछ।

सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ। यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ। प्रतियोगितामा कुल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १ सय ३० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ।