वासिङ्टन, (एजेन्सी)।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रह तथा चन्द्रमाको जस्तो माटो तयार पारी त्यसमा दश प्रकारका तरकारी उमारेका छन्। यस सफलताले भविष्यमा मंगलग्रह तथा चन्द्रमामा बस्नेहरूका लागि अब खाद्यान्न उमार्न सम्भव हुने वैज्ञानिकले बताए।
नेडरल्यान्डको वेगनिंगेन युनिभर्सिटी र अनुसन्धानका शोधकर्ताले मंगलग्रह र चन्द्रमामा उमारिने फसलको बिउ प्राप्त गर्न पनि सम्भव भएको सुझाव दिएका छन्। वैज्ञानिकले गोलभेंडा, मुला, रायो, क्विनोआ, पालुंग, प्याज र कोसासहित १० प्रकारका फसल उमारेका छन्।
ओपन एग्रिकल्चर जर्नलमा प्रकाशित अध्ययनअनुसार दश प्रकारका फसलमध्ये नौवटा राम्रोसँग विकसित भयो। खानका लागि प्रयोग भएको हिस्सामा कटान पनि गरिएको देखिन्छ। यसमा पालुंग विकसित हुन नसकेकाले अपवाद भएको थियो।
मुला, रायोको बिउ पनि उत्पादन गरिएको बताइएको छ। यसको सफलतापूर्वक अंकुरण पनि गरिएको छ। ‘यदि मानव चन्द्रमा र मंगल ग्रहमा बस्न जान्छ भने उनीहरू आफ्ना लागि बालीनाली आफैले उमार्नुपर्नेछ।’ –शोधकर्ताले बताए।
वेगनिंगेन विश्वविद्यालयका वैगर वामेलिंकले भने– ‘पहिलो पटक गोलभेंडालाई मंगलग्रहको जस्तो माटोमा रातोरंगमा फलेको देखेर हामी रोमाञ्चित भएका थियौं। यसको अर्थ हामी एक फरक कृषि पारिस्थितिकी तन्त्रतर्फ कदम बढाइरहेका छौं।’
फसलको विकासका लागि चन्द्रमा र मंगलग्रहको रेगोलिथ एकमात्र विकल्प हो। रेगोलिथ त्यस्तो पत्र हो जसले ठोस चट्टानलाई छोपेको हुन्छ। वैज्ञानिकले भने– ‘रेगोलिथ बिरुवाका लागि उपलब्ध छैन त्यसैले नासाले यससँग मिल्दोजुल्दो माटोको विकास गर्यो।
प्रतिक्रिया