कृष्ण प्रजापति
२००६ सालमा दरभंगमा नेपाल कम्युनिस्ट पार्टी गोप्यरूपमा स्थापना भएको थियो। राणा शासनको उत्तरार्धमा आएर प्रजातान्त्रिक शक्तिका केही असन्तुष्ट व्यक्तिहरू मिलेर बुद्धिजीवीहरूको भेलाले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो। कम्युनिस्ट पार्टीको स्थापनाकालमा मात्रै चारजना योद्धा सहभागी थिए।
बारम्बार फुट्ने र जुट्ने गरेको नेपालमा कम्युनिस्ट पार्टी मात्रै हो। यो संगठनले अहिलेसम्म पनि फुट्ने र जुट्ने क्रम जारी नै राखेको छ। यो प्रक्रियाको सिलसिलामा आज नेपाल कम्युनिस्ट पार्टी देशको सबैभन्दा ठूलो दल कायम भएको छ। तर त्यसभित्र अट्न नसकिरहेका कैयौं राजनीतिक दल वा वामपन्थी शक्ति पनि आफ्नै हिसाबले राजनीतिक क्रियाकलापमा सक्रिय छन्।
तर आज त्यही विचारधारा बोक्ने योद्धाहरू लाखौंको संख्यामा नेपाल राज्यभर कार्यरत छन्। राजनीतिक पार्टी र संगठनहरू विचारधारा तथा सिद्धान्तमा रहेर सञ्चालन भइरहेका हुन्छन्। त्यसलाई कुनै पनि वाद, विचार वा सिद्धान्तले निर्देशन गरिरहेको हुन्छ।
नेपाल कम्युनिस्ट पार्टी पनि माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारा अंगालेर स्थापना भएको थियो। संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठले त्यो बेला देशबाट निर्वासित रहेका निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलाई साथ लिएर उक्त संगठन नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेको थियो।
दरभंगमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले देशबाहिर बसेर भए पनि देशभित्र आफ्ना गतिविधिहरू गर्दै गरे। २००७ सालमा राणाशासन खत्तम भएर प्रजातान्त्रिक शासन व्यवस्था शुरू भयो। त्यो बेला प्रजापरिषद् साह्रै सक्रिय संगठन थियो। त्यो संगठनका कतिपय व्यक्तिहरू नै पछि गएर प्रजातान्त्रिक राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसभित्र पस्न गए। २००४ सालमा स्थापना भएको नेपाली कांग्रेसले देशमा प्रजातन्त्र स्थापना भएसँगै आफ्ना गतिविधिहरू तीव्र पार्दै गए।
त्यो बेला मिलिजुली सरकारमा कहिले मोहन शमशेर, कहिले डा. तुलसी गिरी, कहिले मातृकाप्रसाद कोइराला, कहिले टंकप्रसाद आचार्य प्रधानमन्त्री भए। तर कोही पनि निर्वाचित भई आएका प्रधानमन्त्रीहरू थिएनन्। देशमा प्रजातन्त्र आएको झन्डै एक दशकपछि बल्ल पहिलोपल्ट नेपालको इतिहासमै आमनिर्वाचन भयो।
२०१५ सालमा पहिलोपल्ट भएको आमनिर्वाचनमा ७४ सिटमा ७० सिट नेपाली कांग्रेसले कब्जा गरे भने मात्रै २००६ सालमा ४ जना विद्रोही नेताहरू मिलेर स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीले भने फगत ४ वटा सिटमै सीमित रहन पुग्यो।
यस प्रकार नेपाली कांग्रेसको तुलनामा नेपाल कम्युनिस्ट पार्टीको उपस्थिति सदनमा नगन्य हुन पुग्यो। तर आन्दोलनका क्रियाकलापमा भने पार्टी अगाडि नै देखा पर्दै रहे। बीपी कोइरालाको निर्वाचित सरकार बन्यो।
देशमा आमनिर्वाचन भएको दुई वर्ष पनि नबित्दै पुनः राजा महेन्द्र सक्रिय राजनीतिमा आउन थाले र पञ्चायती व्यवस्था घोषणा गरी देशमा शासन गरिरहेको जननिर्वाचित बीपी कोइरालाको सरकारलाई अपदस्थ गरे। पञ्चायती व्यवस्थाले बोल्ने, लेख्ने, जुलुस निकाल्ने लगायतका मौलिक तथा राजनीतिक अधिकारलाई कुण्ठित गरिदियो।
वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, राजनीतिक अधिकारलगायत नागरिक स्वतन्त्रतामाथि नै प्रतिबन्ध लाग्यो। यसले गर्दा नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक विचार बोकेको पार्टीका नेता तथा वामपन्थी विचारधारा रहेका नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध नेता–कार्यकर्ताहरू देशबाट पलायत हुन पुगे।
उनीहरू आफ्नो जीउज्यानको सुरक्षाको लागि भए पनि पुनः भारतको दरभंगा बस्न जान बाध्य हुन पुगे। त्यहाँबाटै नेपालभित्र र खास गरी काठमाडौं उपत्यकाभित्रका गतिविधि गर्नका लागि मार्गनिर्देशन गर्ने गर्न थाले। त्यही बेलाका केही नेताहरू देशमा सशस्त्र विद्रोह गर्नुपर्दछ भन्दै झापा विद्रोह गर्न तम्सिए।
धर्मप्रसाद ढकालजस्ता जमिन्दारको ज्यान मार्ने गरी झापामा एक लाल किल्ला गठन गर्ने, एकजना जमिन्दार सखाप पार्ने र एक कम्युनिस्ट सरकारको गठन गर्ने जस्ता भारतको नक्सलवादी आन्दोलनको हुबहु नक्कल गरी अगाडि बढ्न थाले।
तर एक जमिन्दारको निर्मम हत्यासँगै पञ्चायती व्यवस्थाले सम्पूर्ण नेता तथा कार्यकर्ताको खोज गरी पक्राउ, जेल यातना तथा ज्यान मुद्दा लगाएर राज्य दमन शुरू गर्यो। झापा विद्रोह गर्ने मेची कोशी कोअर्डिनेसन कमिटीका नेताहरू भूमिगत हुन बाध्य भए। त्यही बेला देशभर भूमिगत नेताहरूले संगठनको विस्तार गर्न थाले।
कम्युनिस्टहरू विभाजन पनि हुन पुगे। व्यक्ति हत्या गलत भन्ने धारणा रहेका र सोही अनुरूप अगाडि बढ्न सके देशमा चाँडो समाजवादी क्रान्ति सफल हुन्छ भन्ने खालका गरी दुई धु्रवमा कम्युनिस्टहरू विभाजित भए। पछि चौथो महाधिवेशनसम्म आइपुग्दा स्पष्टरूपमा पार्टी फुट्यो।
बारम्बार फुट्ने र जुट्ने गरेको नेपालमा कम्युनिस्ट पार्टी मात्रै हो। यो संगठनले अहिलेसम्म पनि फुट्ने र जुट्ने क्रम जारी नै राखेको छ। यो प्रक्रियाको सिलसिलामा आज नेपाल कम्युनिस्ट पार्टी देशको सबैभन्दा ठूलो दल कायम भएको छ। तर त्यसभित्र अट्न नसकिरहेका कैयौं राजनीतिक दल वा वामपन्थी शक्ति पनि आफ्नै हिसाबले राजनीतिक क्रियाकलापमा सक्रिय छन्।
त्यसमध्ये २०३१ सालमा स्थापना भएको नेपाल मजदुर किसान संगठनले आज सातौं महाधिवेशन गरिरहेको अवस्था छ। नेपाल मजदुर किसान संगठन भनी नेपाल कम्युनिस्ट पार्टीकै उपस्थितिमा स्थापना भएको बागमती, नारायणी र जनकपुरमा सक्रिय रहेको संगठन पछि जुम्ला, दैलेख, हुम्ला, मुगु, कालिकोटजस्ता पश्चिमाञ्चलका विभिन्न जिल्लामा पनि सक्रिय भयो।
त्यही हिसाबले नेपाल मजदुर किसान संगठन कुनै बखत नेपालको एक नम्बर वा दुई नम्बरसम्मको कम्युनिस्ट पार्टीको रूपमा पनि गणना गर्ने चलन कायम हुन पुगेको थियो।
यस्तो एक सशक्तरूपमा अगाडि बढेको नेपालको कम्युनिस्ट घटक नेपाल मजदुर किसान पार्टी आज केही जिल्लामा सीमित छ।
अझ सदनमा प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने संघीय सदनमा एकजना मात्रै यस पार्टीका सदस्य निर्वाचित भएका छन्। यो क्रम जारी रहेको निकै धेरै भयो। भाग्यवश संघीय प्रणालीसँगै प्रदेशसभा गठन भएकाले ३ नम्बर प्रदेशमा दुईजनासम्म सदस्य यो पार्टीले हात पार्न सफल भएको छ।
यसबाट पनि हाल नेमकिपा आक्रामक शक्तिको रूपमा होइन कि नेपालको वामपन्थी जगत्मा यो शक्ति संरक्षण गर्नै पर्ने वा रक्षात्मक स्थितिमा पुगेको छ भन्दा फरक नपर्ला। यसको पछाडि देशी–विदेशी शक्तिले यो पार्टीलाई विभिन्नरूपमा समूल नष्ट पार्न खोजेका घटना त छँदै छन्।
यस पार्टीभित्रका आफ्नै कमी–कमजोरीले पनि यो अवस्था सिर्जना भएको हो कि भन्नेतिर पनि सातौं महाधिवेशनले ध्यान दिनुपर्ने देखिन्छ।सरकारमा नजाने पार्टी भनेर कतिपय पार्टी कार्यकर्ताहरूले असन्तोष व्यक्त गरी पश्चिम नेपालमा पार्टीप्रति आस्था रहे पनि एमाले, नेपाली कांग्रेसलगायतका अन्य ठूला पार्टीमा लाग्ने जनलहर कायम छ।
त्यसै गरी यो समयमा प्रजातान्त्रिक शक्ति र वामशक्ति नै नछुट्टिने जस्तो गरी एमाले पनि नेकपा भैसकेको र माओवादी पनि नेकपामा मिलिसकेको अवस्थामा अलग्ग अस्तित्व रहेको यो पार्टीले हिजोजस्तो सम्पूर्ण कम्युनिस्ट पार्टीलगायत अन्य पार्टीका लागि पनि जसरी मार्गनिर्देशन दिने वा प्रकाश स्तम्भको रूपमा काम गर्न सक्ने हैसियत राख्थ्यो, आज त्यसमा कमी आएको पो हो कि ! यसतर्फ पनि वर्तमान नेतृत्वले ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ।
प्रतिक्रिया