महिलाका सबै समस्याको उपचार अब एकै थलोमा

0
Shares

भगवती तिमल्सिना, काठमाडौं।

पेल्भिस फ्लोर सेन्टर काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालमा आज आइतबारदेखि स्त्रीरोगसम्बन्धी जटिल समस्याहरूको उपचार एकैसाथ गरिने भएको छ।महिलाका सबै जटिल समस्याहरूको पहिचान गरी विभिन्न रोगका विशेषज्ञहरूको संलग्नतामा नेपालमा पहिलोचोटी उक्त उपचारको शुरुआत गरिएको हो।

उक्त अस्पतालका एसोसिएट प्रोफेसर/गाइनोकोलोजिस्ट डा. आभा श्रेष्ठका अनुसार पेल्भिस मानव शरीरको तल्लो पेटमा रहेको सानो भाग हो, जुन पेट र खुट्टाको बीचमा हुन्छ। यसले आन्द्रा, पिसाब थैली आदिलाई नियन्त्रण गर्ने या बलियो बनाउने काम गर्छ।

पेल्भिस महिला र पुरुष दुवैमा हुने भए पनि महिलाको पाठेघरमा बच्चा बसी विकास हुने हुनाले ठूलो र फराकिलो हुन्छ। पुरुषको दाँजोमा महिलाको शरीरको बनोटको प्रकृति नै फरक र संवेदनशील हुने हुनाले यो महिलाका लागि निकै महत्वपूर्ण हुन्छ।

विज्ञहरूका अनुसार शरीरको तल्लो भागका अंगहरूलाई बाँधेर बलियो बनाउने काम पेल्भिसले गर्छ। बच्चा जन्माइसकेका महिलाको पाठेघर खुला र खुकुलो हुने कारण संक्रमणको बढी सम्भावना हुने हुँदा समयमै समस्याको पहिचान गरी उपचार गरेमा पाठेघर खस्ने, पिसाब चुहिने, आन्द्राको भाग वा पिसाब थैली तल झर्ने पीडाबाट मुक्ति पाउन सकिने गाइनोकोलोजिस्ट डा. श्रेष्ठ सुझाव दिनुहुन्छ।

पेल्भिसमा हड्डी, मांसपेसी, पिसाब थैली, पाठेघर, नसाहरू, पिसाबको पाइपलगायतका अंग जोडिएका हुन्छन्। यी सबै समस्या देखिँदा फरक–फरक विशेषज्ञलाई भेट्नुपर्ने भएकाले धुलिखेल अस्पतालले यी सबै समस्याको परीक्षण र आवश्यक उपचार एकैथलोबाट गर्न पेल्भिस सेन्टरको सोच अघि सारेको हो।

डा. श्रेष्ठ भन्नुहुन्छ– ‘ढाड, पेट दुखेर, पिसाब, पाठेघर, हड्डी र नसाको समस्या भएर आउने सबैका लागि धुलिखेल अस्पतालको टिम नै मिलेर एकै थलोमा उपचार सेवा प्रदान गर्नेछौं।’ पेल्भिसमा पाठेघर खस्ने, पिसाबको थैली खस्ने, मासपेसीहरू कमजोर भएर आन्द्रा माथि आउने समस्या हुन सक्छ।कतिपयलाई हाच्छिउ गर्दा, खोक्दा पिसाब चुहिने, पिसाब रोक्न नसक्ने समस्या हुन सक्छ।

यस रोगको उपचारका लागि धुलिखेल अस्पतालमा अत्याधुनिक उपकरणहरू भित्र्इिसकेको छ। बायोफिडब्याक मेशिनले माशपेशीको क्षमताको पहिचान गर्छ। यी सबै उपकरण अस्प्तालमा छ र यो उपचार गरे राम्रो हुन्छ भनी बिरामीलाई सल्लाह दिई उपचार गर्न बाटो देखाउँछ।डा.आभा भन्नुहुन्छ–प्रायःजसो महिलाहरूको मांशपेशीको समस्या गर्भवती भएपछि देखापर्छ।

हर्मोनको गडबडीले मांशपेशीहरू कमजोर हुन्छन्। महिनावारी रोकिएपछि हर्मोनको उत्पादन हुँदैन। त्यसपछि महिलाको पाठेघर (आङ) झर्ने, पिसाब चुहिने समस्या हुन्छ। यो नहोस् भन्नका लागि शारिरीक व्यायाम गर्न सकिन्छ।समयमै परामर्श दिएर सिकाइएमा यो अवस्था नै आउँदैन।

यी सबै कार्यक्रमलाई एकै थलोमा अघि बढाउन हाडजोर्नी, नसा, गाइनोकोलोजिष्ट, फिजियोथेरापी, नर्सिङ, रेडियोलोजिष्ट, ल्याब, प्राविधिक, मेडिसिन, युरोलोजिष्ट, भाष्कुलर, कोलोरोडिक सर्जन हामी सबै जना मिलेर सेवा दिने योजना बुनेका छांै।

यतिमात्र नभै गर्भवती महिलालाई शुरुदेखि नै शरिरलाई चुस्तदुरुस्त राख्न फिजियोथेरापी सिकाउने योजना बनाएका छौं। गर्भवती भएपछि आफूलाई कसरी सहज र सरल रुपमा हिंडडुल गर्नाले मांशपेशी कमजोर हुनबाट रोक्नुका साथै प्रभावकारी हुन्छ।

यसका साथै पोष्टनेटु व्यायामअन्तर्गत मशल्सलाई कसरी बलियो बनाउने भन्ने व्यायाम पनि गराउँछौ।महिलाको पिसाब चुहिएको अवस्थाबारे परिक्षण गर्ने अत्याधुनिक मेशिन पनि धुलिखेल अस्पतालमा भएकाले अबका दिनमा पिसाब चुहिने समस्याबाट कुनै पनि महिलाले लाज मानेर समस्या लुकाउनुपर्दैन।

हास्दा, खोक्दा, उफ्रदा पिसाब झर्ने भएमा मेशिनले नै समस्याको पहिचान गर्छ र कुन मशल्स कमजोर भएको हो र कुन उपचार गर्दा निको हुन्छ भन्ने तत्काल पहिचान गर्न सकिन्छ। कहिलेकही पत्थरीका कारणले पनि पिसाब चुहिने हुन्छ त्यसका लागि यूरोलोजि डिपार्टमा यूरो फोमेट्री मेशिनले पत्थरीको पहिचान गर्छ।

धुलिखेल अस्पतालसँग यतिबेला उपकरणका साथै तालिम प्राप्त दक्ष जनशक्ति विकास भैसकेको डा.श्रेष्ठ बताउनुहुन्छ। एकपटक गर्भवती भएकी महिलाको मसल्स कमजोर हुने, पिसाब थैली तल झर्ने र पिसाब चुहिने समस्या हुनसक्छ।

यसको समाधान सजिलै हुन्छ।यदि व्यायमबाट भएन भने औषधि या शल्यक्रियाका माध्यमबाट समाधान गर्न सकिन्छ। नेपालमा पिसाबको नली यथा स्थानमा राख्ने नयाँ प्रविधिबाट पहिलोचरणमा ४२ जनाको सफलतापूर्वक शल्यक्रिया भैसकेको डा.श्रेष्ठ बताउनुहुन्छ।

शल्यक्रियापछि ३ महिना चिकित्सकको सल्लाह पूर्ण रुपमा पालना गरेमा जीवनभरीका लागि यो समस्याको समाधान हुन्छ।