जम्मुकास्मिरमा विपक्षी नेताहरूलाई जान दिनुपर्छ : ईयू सांसद

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।

युरोपेली संघका २३ सांसदको विवादास्पद जम्मुकास्मिर भ्रमण बुधबार समाप्त भएपछि सांसदहरूले यात्रालाई लिएर गरेको पत्रकार सम्मेलनमा अनुच्छेद ३७० हटाउनु भारतको आन्तरिक मामिला भएको र उनीहरू कट्टरपन्थीविरुद्ध जारी लडाइँमा भारतको साथमा रहेको बताए।सोही दलमा रहेका एक सदस्यले कास्मिरमा विपक्षी नेताहरूलाई पनि जान दिनुपर्ने सुझाव दिएका छन्।

नयाँदिल्ली सरकारले भारतका विपक्षी नेताहरूलाई जम्मुकास्मिर भ्रमणमा रोक लगाएको छ भने त्यहाँको प्रमुख पार्टीका प्रायः नेताहरूलाई हिरासत तथा नजरबन्दमा राखेको छ।
ईयू सांसदको यस यात्रालाई लिएर विपक्षी पार्टीहरूले कयौं प्रश्न उठाइरहेका छन्। भारतकै विपक्षी पार्टीका नेताहरूलाई त्यहाँ जान दिइरहेको छैन त्यस्तोमा एक अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डललाई त्यहाँ जान अनुमति किन दिइयो भन्दै

भ्रमणलाई लिएर भारतभित्र व्यापक विरोध भइरहेका बेला युरोपेली संघका सांसदहरूको प्रतिनिधि मण्डलका सदस्य निकोलस फेस्टले भारतका विपक्ष पार्टीका नेताहरूलाई जम्मुकास्मिर जान दिनुपर्ने बताएका हुन्।

युरोपेली संघका सांसदहरूलाई जान दिइएको छ भने भारतका विपक्षका नेताहरूलाई पनि जान दिनुपर्ने उनले बताएका समाचार एजेन्सी एएनआईले बताए। यो एक प्रकारको असन्तुलन भएको बताउँदै यसको पनि सरकाले समाधान गर्नुपर्ने उनले सुझाव दिए।

निकोलस फेस्ट जर्मनीको अति दक्षिणपन्थी राजनीतिक पार्टी अल्टरनेटिव फर जर्मनी पार्टीका सदस्य हुन्। यसैबीच युरोपेली युनियनले सांसदको उक्त भ्रमणले संघको औपचारिक प्रतिनिधित्व नगरेको प्रस्ट पारेको छ।

भारत सरकारले कास्मिर मामिलालाई आन्तरिक भएको बताउँदै आइरहेको तर अन्तर्राष्ट्रिय दललाई प्रायोजितरूपमा किन जान दिइयो भन्ने प्रश्न विपक्षले अगाडि सारेका छन्।
गत अगस्ट ५ मा अनुच्छेद ३७० हटाइएको करिब तीन महिनापछि बिहीबार जम्मुकास्मिर र लद्दाख दुई केन्द्र शासित प्रदेश बनेको छ।

मध्यरातिदेखि जम्मुकास्मिर राज्य दुई केन्द्र शासित प्रदेशमा विभाजित भएको छ। दुई केन्द्र शासित प्रदेशका रूपमा अस्तित्वमा आउने तिथि अक्टोबर ३१ लाई तोकिएको थियो।

यो स्वतन्त्र भारतका पहिलो गृहमन्त्री सरदार बल्लभभाई पटेल जयन्ती पनि हो। यही दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ। यसले अब भारतमा राज्यको संख्या घटेर २८ भएको छ भने केन्द्र शासित प्रदेशको संख्या बढेर ९ पुगेको छ।