सरोज यादव, विराटनगर।
मोरङ आदिवासी सन्थाल समुदायका मौलिक नाच लोप हुँदै गएका छन्। पश्चिमा संस्कृतिको प्रभाव र समुदायका मानिस रोजगारीका लागि विदेशतिर पलायन हुँदै गएका कारण सांस्कृतिक नृत्य लोप हुँदै गएका हुन्। सांस्कृतिकरूपले धनी मानिने आदिवासी सन्थाल समुदायका मौलिक नाँच लोप हुँदै गएका छन्।
तीन दशक अघिसम्म यो समुदायका बस्तीमा चाडपर्व र महिनाअनुसारकै नृत्य प्रस्तुत गर्ने चलन थियो। फरक–फरक पर्वका लागि बेग्लाबेग्लै नृत्य र नृत्यका लागि मौलिक गीतसंगीत गाउने प्रचलनसमेत थियो।
भौतिकवाद र आधुनिक जीवनशैलीको खोजीमा पुराना बस्तीका मानिसहरू शहर पस्ने र रोजीरोटीको खोजीमा अन्यत्र सर्दै गएका कारण सन्थाल समुदायको नृत्य संस्कृतिमा प्रतिकूल असर परेको संस्कृतिका जानकार लक्खीराम मुर्मुको भनाइ छ।
केही दशकअघि यो समुदायमा दर्जनौं नृत्य अस्तित्वमा थिए तर पछिल्लो समय अधिकांश नृत्य लोप भएका छन्। यो समुदायका मानिसले पानी पर्दा खुशियालीमा लागणें नृत्य नाचेर उत्सव मनाउने प्रचलन थियो।
यसैगरी विवाहको अवसरमा बैका नृत्य, लाठीसहित युद्धकला समेटिएको लौरिया, दशैंको अवसरमा दशयने र पुरुषले बाजा बजाउने तथा महिला मात्रले नाच्ने गुलवारी नृत्यसमेत नाचिन्थ्यो। तिहारमा सोहराय र करम पर्वमा कराम दन नामक नृत्य प्रस्तुत गरिन्थ्यो।
यी नृत्यमध्ये सोहराय नृत्य सबभन्दा लोकप्रिय मानिन्छ। जुन अद्यावधिक छ। अन्य नृत्य भने अहिले सभासमारोहका लागि मात्र प्रस्तुत गरिन्छ। यसप्रकारका नृत्यमा वाद्य वादनका रूपमा तुम्दा, दामाक, कोरताल र ढोललगायत प्रयोग गरिन्छ भने शिरमा मुजुरसहितका विभिन्न चराको प्वाँख सिउरिने गरिन्छ।
सन्थाल समुदायको संस्कृति वनजंगलकै छेउछाउमा विकसित भएका कारण समुदायका नृत्यमा त्यसको झझल्को पाउन सकिन्छ। उनीहरूको पहिरन र भेषभुषाले त्यो कुरा झल्काउँछ।
जंगली परिवेशलाई अंगाल्दै हुर्किएको यो समुदायको संस्कृति जंगलक्षेत्र मासिँदै गएका कारणसमेत प्रभावित भएको छ।
विभिन्न धर्म मान्ने सन्थाल समुदाय मंझी प्रथाबाट सञ्चालित हुँदै आएको छ। देशको अमूल्य निधिका रूपमा रहेका सन्थाली नृत्य जोगाउन सरकारले अविलम्ब ठोस नीति ल्याउन आवश्यक रहेको आदिवासी अगुवाहरूले बताएका छन्।
प्रतिक्रिया