कास्की–२ उपनिर्वाचन : नेकपा जिल्लाबाट एक प्रदेशबाट तीनको नाम सिफारिस

0
Shares

विजय नेपाली, पोखरा।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्लाले गरेको उम्मेद्वारीको निर्णय प्रदेशले उल्टाउँदै तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।कास्की २ को उपनिर्वाचनका लागि नेकपाले स्व. रवीन्द्रकी पत्नी विद्या भट्टराईलाई निर्विरोध उम्मेद्वारमा सिफारिस गरे पनि त्योे सिफारिस प्रदेशले उल्ट्याएको हो। नेकपा प्रदेशले थप २ जना उम्मेद्वारको नाम केन्द्रमा सिफारिस गरेको छ।

विद्यासँगै प्रदेश कमिटीले सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ को नाम सिफारिस गरेको छ। कात्तिक ९ गते भएको प्रदेश कमिटी बैठकमा यसबारे बहस भएको थियो। मुख्यमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको जोडबलमा ३ जनाको नाम सिफारिस भएको एक नेताले बताउनुभयो।

जिल्लाले सर्वसम्मत नाम सिफारिस गर्दा माथिल्ला निकायलाई सहज हुनुपर्नेमा माथिल्ला निकायले नै नाम थप्नुले प्रदेश पार्टी इन्चार्ज गुरुङको नियतमा शंका उब्जिएको उहाँले बताउनुभयो। तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्वाचित भएको कास्की २ सहित देशका विभिन्न स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ।

अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।‘विद्या कमरेडको विकल्प हुन सक्दैन बैठकमा उहाँले चाहाना नदेखाए कसरी जाने भन्ने विषयमा छलफल भएको हो,’ पूर्वस्वास्थ्य मन्त्री तथा नेकपा गण्डकी प्रदेश कमिटी इन्चार्ज खगराज अधिकारीले भन्नुभयो।

सिफारिसमा को को परे भन्नेबारे नखुलाए पनि प्रदेश कमिटीको तिहारअघि बसेको बैठकले छलफल गरेको अधिकारीले बताउनुभयो। एक नेताका अनुसार केन्द्रकै नीति बमोजिम नाम सिफारिस गर्न पर्ने भएकाले पहिलो प्राथमिकतामा विद्या र क्रमशः सोमनाथ प्यासी र राजकाजी करणको नाम सिफारिस गरेको हो।

पार्टीमा गरेको योगदानको आधारमा प्यासी र युवा तथा जनजाति भएको कारणले करणको नाम सूचीमा परेको उहाँले बताउनुभयो। कार्तिक ८ गते बसेको नेकपाको जिल्ला बैठकले विद्याको नाम सर्वसम्मत निर्णय गरेको थियो।

नेकपा जिल्ला अध्यक्ष कृष्ण थापाले नाम सिफारिस गर्दा सर्वसम्मत सिफारिस भएको थियो। यद्यपि कात्तिक ९ गते बसेको प्रदेश बैठकले भने उत निर्णयलाई संशोधन गर्दै अन्य दुई नेताको नामसमेत सिफारिस गरेको हो।