दुर्घटनामा एकको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।

भक्तपुर नगरपालिका १० मुलढोकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसरका अनुसार बा ४ ख ६०७ नम्बरको बसले ठक्कर दिंदा पैदल यात्रु विकाश तामाङको मृत्यु भएको हो।अगाडि पार्किङमा राखेको बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिए लगत्तै बसले पैदल यात्रु तामाङलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते तामाङको उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। वर्ष २० का विकास तामाङ काभ्रे डाँडापारिका रहेको बुझिएको छ।
सोही बसको ठक्करबाट घाइते पैदलयात्री सुर्यविनायक नगरपालिका ७ गुण्डुका विशाल तामाङको भने सामान्य अवस्थामा उपचार भइहरको छ।

प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार बसका चालक भक्तपुर नगरप ालिका १० कमलविनायक बस्ने ४० वर्षीय बलराम ज्याख्वलाई नियन्त्रणमा लिइएको छ। बस चालक बलरामले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको प्रहरीले जनाएको छ।

आठ जुवाडे पक्राउ

काठमाडौ(नेस)। चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारास्थित चन्द्रागिरी कटेजमा तास र कौडा खेलिरहेको अवस्थामा बलम्बु बस्ने गुल्मी चारपाला गाउँपालिका–६ घर भएका मुकेश थापा समेत ८ जनालाई १ बुक तास,१६ वटा कौडा र नगद २ लाख २० हजार ६ सय ५ रुपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

त्यसैगरी बारा, कलैया उपमहानगरपालिका–२ अव्धापुरस्थित बाँसघारीमा जुवातास खेलिरहेका कलैया उपमहानगरपालिका(३ बस्ने ४३ वर्षीय महेश प्रसाद गुप्तालाई नगद ५ लाख ४८ हजार २ सय ५० रुपैयाँ,३ बुक तास तथा ना.४३ प ८११,ना.६५ प ८८५७ रबा. ४९ प ७०४७ नम्बरका ३ वटा मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ। गुप्तासँगै जुवातास खेलिरहेका अन्य ३ जना प्रहरीलाई देख्नासाथ फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ।