घरेलु फोहोरको दिगो व्यवस्थापनमा प्रविधिको प्रयोग आवश्यक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

यस बर्ष बिश्व बसोबास र सहरी योजना गरी दुईवटा दिवस एकै दिन मनाइएको छ। हरेक बर्षको अक्टोवर २ तारिख मनाउनु पर्ने बसोबास दिवस र अक्टोबर ३१ तारिक मनाइने पर्ने विश्व सहरी दिवसलाई संयोजन गरेर बिहीबार मनाइएको छ। यसपछि नोभेम्बर ८ तारिखका दिन यसै प्रकारको अर्को दिवस बिश्व सहरी योजना दिवस आउँदैछ।

दिवसका अवसर पारेर राजधानीमा अग्रणि प्रबिधिबाट फोहोरबाट मोहोर बिषयक कार्यशाला आयोजना गरिएको थियो। कार्यशाला उद्घाटन गर्दै सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले फोहोर उत्पादनसँग व्यवस्थापन प्रणाली नजोडिएकाले जति प्रयत्न गरे पनि समस्या जहाँको त्यहीँ रहेको धारणा राख्नुभयो।

उहाँले भन्नुभयो — उचित प्रबिधि छनौट गरेर कार्यान्वयनमा ल्याउन नसक्नु अर्को कारण हो। उहाँले काठमाडौंको फोहोर व्यवस्थापनको प्रसङ्ग उठाउँदै भन्नुभयो — क्षेत्राधिकार बाझिएकाले मन्त्रालयलाई पनि काम गर्न गाह्रो छ। बञ्चरे डाँडाको पूर्वाधार बनाएर ल्याण्डफिल्ड साइट बनाउने काम गरिरहेका छौं तर अहिलेसम्म यसलाई प्रबिधिमैत्री बनाउने बिषयमा सोच छैन।

मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भन्नुभयो — हामीले पैसा तिरेर फोहोर किनिरहेका छौं। पैसा तिरेकोमध्ये कति फोहोर हो, किन्नेबेलामा नै सोचेर व्यवहार गर्ने हो भने व्यवस्थापनको गतिलो काम त्यहीँबाट शुरु हुन्छ। व्यक्तिको आचरणमा परिवर्तन आएसँगै श्रोतमै घट्ने वा प्रयोग गरेपछि वातावरणमै मिसिएर सकिने फोहोरको मात्रा घट्दै गएको छ।

कार्यक्रममा सहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलालले वातावरणमैत्री ल्याण्डफिल्ड साइट बनाउँछौं भन्दा समुदायले बिश्वाश नगरेकोले काम अघि बढाउन कठिन भएको बताउनुभयो। काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडाको पूर्वाधार आउँदो मंसिर १ गतेसम्ममा सक्ने योजना थियो। त्यो करीब २० दिन लम्बिने छाँट छ।

नेपालको परम्परागत फोहोर व्यवस्थापनका लागि प्रबिधि भएर मात्र पनि हुँदैन। यहाँको आवश्यकता अनुसारको प्रबिधि चाहिन्छ। त्यसलाई परिचालन गर्न उपयुक्त नीतिगत प्रबन्ध हुनुपर्छ, कार्यशालाका मुख्य बक्ता मनोहर भट्टराईले प्रबिधि प्रयोग गरेर तथ्याङ्क संकलन गरेपछि कार्यक्रम तर्जुमा गर्ने आधार बन्ने बताउनुभयो। त्यस्तै खाली सिसी डटकमकी संस्थापक आयुषी केसी. ले प्रभावकारी साना कार्यक्रमको ठूलो प्रभाव पर्ने बताउनुभयो।

कार्यशालामा भुषण श्रेष्ठले फोहोर व्यवस्थापनका लागि सृजनात्मक सूचना प्रबिधि प्रणालीको प्रयोग, दर्पण पुडासैनीले सूचना संकलन र तथ्य बिश्लेषणका लागि ड्रोन प्रबिधिको प्रयोग र करुणा अधिकारीले बिपद्जन्य फोहोर व्यवस्थापनमा प्रबिधि बिषयक प्रस्तुतकरण गर्नुभएको थियो। कार्यशालालाई पोखरा महानगर, हरिवन नगरपालिका, नेपाल नगरपालिका संघलगायतका संघसंस्थाहरूसँग भिडियो कन्फरेन्समार्फत सहभागी गराइएको थियो।