बंगलादेशका राष्ट्रपति नेपाल आउँदै

0
Shares

काठमाडौ, (नेस)।

बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने चर्चा भइरहेका बेला सो मुलुकका राष्ट्रपति अब्दुल हमिद यही महिनाको अन्तिम साता नेपाल भ्रमणमा आउनुहुने भएको छ।
नेपालसँगको कनेक्टिभिटी, ऊर्जा, द्विपक्षीय व्यापार र लगानी बढाउने उद्देश्यका साथ हमिद दुईदिने नेपाल भ्रमणमा आउनुहुने भएको हो।

हमिदले यही कात्तिक २७ र २८ गते नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्राालय स्रोतले जनाएको छ। यद्यपि भ्रमणका एजेन्डा र भ्रमण मिति र अन्य कार्यक्रम अझै टुङ्गो लाग्न बाँकी रहेको मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई बताए।

‘भ्रमणबारे चर्चा भएको हो तर अहिलेसम्म भ्रमणको त्यस्तो औपचारिक कार्यतालिका आइसकेको छैन’ –ती अधिकारीले भने। बंगादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने र नेपालको ऊर्जा आफ्नो मुलुकले खरिद गर्ने गरी दुवै मुलुकबीच गत साउन २५ गते मन्त्रीस्तरीय ऊर्जा सम्झौता भइसकेको छ।