प्रम ओली डिस्चार्ज स्वास्थ्य अवस्था सामान्य

0
Shares

काठमाडौं, भगवती तिमल्सिना।
प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको उपचारपछि बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। मिर्गौलामा आएको खराबीका कारण विविध स्वास्थ्य समस्या देखिएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीलाई दुईपटकको हेमोडायलाइसिसपछि डिस्चार्ज गरिएको थियो।

प्रम ओलीको रगतमा बढेको हानिकारक तत्व क्रियटाइन हटाउन बुधबार र बिहीबार दुईपटकसम्म हेमोडायलाइसिस गरिएको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बिहीबार साँझ अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक भएको बताउँदै रगतमा बढेको क्रियटाइनलाई क्लियर गर्न दुईपटक हेमोडायलाइसिस गरिएको जानकारी दिनुभयो। बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजेको समयमा ग्रान्डी अस्पतालमा भर्ना गरिएको र उहाँको रगतमा क्रियाटिन, युरिया र पोटासियमको मात्रा बढेकाले दुई दिनमा दुईपटक हेमोडायलाइसिस गरिएको डा. पाण्डेले बताउनुभयो।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न बिहीबारै अस्पताल पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमै पुगी भेटेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनुभएको थियो।

प्रधानमन्त्री ओलीको १२ वर्ष पहिला नै मिर्गौला प्रत्यारोपण गरिएको र केही समयदेखि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आउन थालेकाले गत भदौमा सिंगापुर गएर ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। त्यति बेला रगतमा ‘एन्टिबडी’ बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो।

यो प्रक्रिया गर्दा प्रधानमन्त्रीलाई ज्वरो आउनेलगायतका समस्या देखिएकाले उपचारको साइकल पूरा गर्न दुईपटक सिंगापुर जानुपरेको थियो। सोही अवसरमा नयाँ औषधि चलाएको र मृगौलाले थाम्न नसकेको खण्डमा मृगौला नै प्रत्यारोपणसम्म गर्नुपर्ने हुन सक्ने संकेत चिकित्सकहरूले दिएका थिए।

यसैबीच डा. चक्रराज पाण्डे र नेफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले बिहीबारै प्रेसनोट जारी गरी प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताउनुभएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको मृगौलाको समस्याभन्दा पनि दौडधुपका कारण रगतमा हानिकारक तत्व बढ्नुका साथै पिसाबमा प्रोटिनको मात्रा बढी देखिएकाले डायलाइसिस गरिएको हो। उक्त अवस्थामा सुधार आएमा मृगौलाले राम्रैसँग काम गर्छ। पुनः प्रत्यारोपण गर्नुपर्दैन।