प्लाष्टिकमुक्त अभियान प्रभावहिन

0
Shares

नेपालगञ्ज ।

नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन् ।

‘हामी अभियानलाई सार्थक परिणाम सम्म पु¥याउन प्रयासरत छौ । विस्तारै सफल हुँदै जाने हो, एकै पटक उल्लेख्य परिणाम त आउदैन्’—नगर प्रमुख डा। धवलशम्शेर राणाले भन्नुभयो ।
उपमहानगरपालिकाले गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पको रुपमा कपडा र कागजका झोला र बोराहरु उत्पादन गरेर बितरण गरेको बताए पनि त्यसको प्रयोग कहि कतै भएको देखिदैन् ।

झण्डै ४ महिना अघि शुरु गरिएको यो अभियान अहिले कोठे बैठक, सरोकारवालासंगको अन्तरक्रिया, पर्चा, पोष्टरमै मात्र सीमित देखिएको छ । अर्कोतर्पm, उपमहानगरपालिकाले प्लाष्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्ने सम्मको तयारी गरिरहेकोे जनाए पनि गत बर्षदेखि लागू गरेको फोहरमैला व्यवस्थापन ऐनले प्लाष्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन ।

यो ऐन नै अद्यावधिक गर्नु पर्ने अवस्था एकातिर छ भने अर्कोतर्पm यस बर्षको कार्यक्रम र बजेटमा पनि फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने बिषय समेटिएको छैन ।नमिलेको विषयवस्तु हामी मिलाउछौ, ऐन, नियम बनाउनेदेखि संशोधन गर्ने, बजेट विनियोजन गर्ने लगायतका सबै कुरा अभियानको कार्यक्रम भित्र समेटिने नगर प्रमुख राणाको भनाइ छ ।

अभियानको कार्यक्रमअन्तर्गत अहिले विभिन्न संघ संस्थाहरुले प्लाष्टिकजन्य फोहर संकलन पनि गरिरहेका छन् तर प्लाष्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने भने गरिएको छैन ।
उपमहानगरपालिकाले विशेषगरि पोलिथिन प्रयोग नियन्त्रणको पहल गरिरहेको छ ।

कपडा र कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । तर प्लाष्टिक जन्य प्रदुषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन । नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन गर्ने प्रयास गरिएको छ तर त्यसले अझैं बजार पाएको छैन ।