मनोरञ्जनसँगै सन्देशको प्याकेज  छ माया छपक्कै 



विदुर गिरी

देश पूरै राजनीतिले गाँजिएको छ। जताततै राजनीतिको प्रभाव छ। राजनीतिको हावा यसरी फेलिएको छ कि जनता खोज्नै कठिन हुन थालेको छ। हरेकजसो मानिस कुनै न कुनै पार्टीको कार्यकर्ता भएर विभाजित भएका छन्।  तसर्थ हरेक क्षेत्रमा राजनीतिको दबदबा छ।यस्तै कथावस्तुमा नेपाली फिल्मका पारखीले यसपालि गतिलो फिल्म हेर्न पाइरहेका छन् छ माया छपक्कै। यो फिल्म राजनीतिको कथामा छ।
छक्का पञ्जा फिल्मको समूहको संलग्नातामा बनेको छ माया छपक्कैमा भने पानीमाथि राजनीतिको चोटिलो कथा छ। जसलाई हेरेपछि देशमा राजनीतिले पारेको प्रभाव र असर छर्लंगै हुन पुग्छ। अघिल्लोपटक छक्का पञ्जा–३ मा शिक्षामा छाएको राजनीतिको कथा पस्केको हास्यव्यंग्य कलाकारको समूहले छ माया छपक्कैमा पानीमाथिको राजनीतिलाई सटिकरूपमा प्रस्तुत मात्र गरेको छैन, एउटा गतिलो सन्देश पनि दिएको छ।
फिल्मभित्र छेलोखेलो पानी भएको छिमेकी गाउँ छ। सँगै जोडिएको गाउँमा भने मुख धुने र पिउने पानीको समेत चरम अभाव छ। जति बल गरे पनि वा जति आग्रह अगाडि सारे पनि त्यो गाउँले छिमेकी गाउँबाट पानी पाउँदैन।
त्यो गाउँमा यस्ता राजनीतिक नेता बस्छन्, जसले आफ्नो सिंगो जीवनसँगै छोरा र भतिजलाई पनि बुर्जुवा शिक्षा भन्दै शिक्षाबाट पर राखी राजनीतिमै लगाउँछन्। तर, उनको आफ्नै राजनीतिक जीवनसमेत दरिलो बन्न सक्दैन। गाउँ भने पानी नभएको गाउँका रूपमा चिनिएको छ। पानीकै अभावका कारण बलियो मायाप्रीतिसमेत तोडिन पुग्छ। सम्बन्धहरू टुट्दै जान्छन्। कथाले पकड लिँदै जाँदा दुई गाउँका नेताहरूबीच सम्धी–सम्धीको नयाँ सम्बन्ध स्थापित हुने सम्भवना पनि बढ्दै जान्छ।

छिमेकी गाउँकी चेली अर्को गाउँकी बुहारी बन्ने सम्भावना हुन्छ। फेरि पर्खाल बनेर उभिन्छ पानीमाथिको राजनीति। त्यसपछि कथा कसरी अगाडि बढ्छ। पानीमाथि राजनीति सकिन्छ या फेरि आगो बनेर दन्किन्छ? पानीकै कारण दुश्मन बनेको दुई गाउँका प्रेमि–प्रेमिकाको मिलन हुन्छ कि वियोगान्त कथा बनेर छ माया छपक्कै सकिन्छ? यस्ता सवालका जवाफ पाउन अहिले पनि देशका हलहरूमा छ माया छपक्कै हेर्न सकिन्छ।

सर्सरती फिल्म हेर्दा यसले हसाउँदै गम्भीर बनाउँदै लान्छ। शीर्षकको तालमेल नमिलेको आभाष भए पनि फिल्म रोमाञ्चक बन्दै अगाडि बढ्छ, फेरि गम्भीर बनाउँछ, अनि उत्तिकै रुचिकर पनि बनाइदिन्छ। समग्रमा फिल्म हेरुञ्जेल कहींकतै पट्यार लाग्दैन। फिल्मको कथा नयाँ लाग्छ। भीडको आवाजमात्र सुन्ने सत्ताको सत्य अनि नो भोटको असली तात्पर्यलाई पनि फिल्मले गतिलैसँग खोलिदिएको छ। पटकथा चुस्त छ, संवाद चोटिला र गहकिला। फिल्मभित्र एउटै मात्र गीत समावेश गरिएको छ। र सही ठाउँमा छ।
त्यसको कोरियोग्राफी लोभलाग्दो छ। एक्सन सामान्य छ, छायांकन थप मेहनत सुनमा सुगन्ध हुन सक्थ्यो भने सम्पादन चुस्त छ। अभिनयतर्फको चर्चा गर्दा दीपकराज गिरी दमदार लाग्छन्। प्रायः फिल्ममा खलभूमिकामा अभिनय गर्दै आएका दीपकले यसपटक सकारात्मक भूमिकामा पनि दर्शकलाई उत्तिकै प्रभावित पारेका छन्।
प्रकाश घिमिरे सर्वाधिक प्रशंसाको पात्र देखिन्छन्। जितु नेपाल, अनुराग कुँवर, सविन बास्तोला, शिशिर वाङ्देल, केकी अधिकारी र विष्णु सापकोटा स्वभाविक लाग्छन्। केदार घिमिरेले हँसाएरै धुरुक्क बनाउँछन्। रमा थपलियाको अभिनय प्रशंसनीय छ। सुपुष्पा भट्ट सामान्य देखिन्छिन्। फिल्मको अन्तमा अरू केही कलाकारका पनि देखिन्छन् सरप्राइजका रूपमा।
निर्देशकले फिल्मलाई यसरी प्रस्तुत गरेका छन् कि छ माया छपक्कै हेर्नेले उनको प्रशंसा अवश्य गर्नेछन्। यति धेरै कलाकारलाई बराबर न्याय दिएर कथालाई अगाडि बढाउने मामलामा निर्देशकले राम्रो सीप देखाएका छन्। फिल्मले मनोरञ्जन त प्रदान गर्छ नै, सन्देश पनि राम्रै दिन्छ।
छ माया छपक्कैभित्र
निर्माण संस्था ः आमा सरस्वती मुभिज
निर्माता ः रोहित अधिकारी
कार्यकारी निर्माता ः केदारप्रसाद घिमिरे र जितु नेपाल
कथा र निर्देशन ः दीपेन्द्र लामा

निर्देशन सल्लाहकार ः दीपाश्री निरौला
पटकथा ः दीपकराज गिरी

संवाद ः दीपकराज गिरी, केदारप्रसाद घिमिरे,

जितु नेपाल र अभिमन्यु निरवी

गीतकार ः राजेन्द्र थापा

संगीत ः वसन्त थापा
गायन ः वसन्त थापा र मीना निरौला
कोरियोग्राफर ः कविराज गहतराज
द्वन्द्व ः रोशन श्रेष्ठ
छायांकन निर्देशन ः हरि हुमागाईं
सम्पादन ः विपीन मल्ल

प्रतिक्रिया दिनुहोस्