अवैध उत्खनन्मा प्रहरी एक्सन, ४ ट्याक्ट्रर, ७ टिप्पर र १ ईस्काभेटर नियन्त्रणमा


रोशनी भट्टराई, विराटनगर ।
अवैध माटो उत्खनन गर्दै आएको समूहले विराटनगर र दुहबीको सिमाना भएर बग्ने केशलिया खोला उत्खननलाई निरन्तरता दिएका छन् ।

नीति नियमलाई उल्लंघन गर्दै खोलामा स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको पाइएको छ ।
लामो समयदेखि अवैध उत्खनन हुँदै आएको विराटनगर–४ इक्राहीस्थित केशलिया खोला पुल छेउको उत्खनन् रोकिएको छैन । माटो तस्करहरुले इक्राहीमा उत्खनन गर्नुका साथै त्यहाँबाट झण्डै ५ सय मिटर उत्तर–पश्चिमतर्फ रहेको पुल नजिकै स्काभेटर प्रयोग गरेर उत्खनन् गरिरहेको भेटिएको छ ।

प्रहरीसहितको सरोकारवाला सोमबार त्यहाँ पुग्दा दर्जनौं ट्रयाक्टर र टिपरहरु माटो ओसारिरहेका थिए । प्रहरीको टोली देख्ने बित्तिकै माटो ओसारिरहेका ट्रयाक्टर चालकहरुमा भागाभाग मच्चिएको थियो । कतिपय ट्रयाक्टर चालकहरु धान खेततर्फ भागेका थिए तर प्रहरीले उनीहरुलाई लखेटेर पक्राउ गरेको थियो । त्यहाँबाट केही ट्रयाक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिएको प्रहरीले पश्चिमतर्फबाट माटो ओसारेर आउँदै गरेको ट्रिपर र चालकहरुलाई समेत नियन्त्रणमा लियो । लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका डिएएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी नजिकैको पुलतर्फ लाग्यो ।

त्यहाँको दृश्य थप अराजक थियो । विराटनगर र दुहबीको बुगडरी जोड्ने पुल नजिकै स्काभेटरबाट माटो उत्खनन गरेर ट्रिपरहरुमा लोड हुँदै थियो । त्यहाँ खोलाको बहावभन्दा १० मिटरभन्दा पनि कमदुरीमा गहिरो खाड्ल पर्ने गरी माटो उत्खनन गरिंदै थियो ।

त्यहाँ उत्खननमा खटिएको स्काभेटर र माटो ओसार्न तयार रहेका ट्रिपर र चालकहरुलाई समेत मोरङ प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले ४ वटा ट्याक्ट्रर,७ वटा टिफर र एउटा ईस्काभेटर नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध उत्खनन गर्ने समूहलाई नियन्त्रणमा लिएको देखेपछि स्थानियवासी खुसी भएका थिए । लामो समयदेखि खोला खनिएका कारण आफुहरुले डुबानको समस्या झेल्नु परेको स्थानीय मैहरुन खातुनले बताए ।

सो क्षेत्रमा उत्खनन गरिएका कारण विराटनगर–बुगडरी जोड्ने पुल पूरै जोखिममा परेको छ । विराटनगर महानगरपालिकाले उत्खनन रोक्न कडा कदम चालिने बताउँदै आए पनि ब्यवहारमा त्यस्तो हुन सकेको छैन । पर्याप्त जनशक्तिको अभाव लगायतका कारण समस्या भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले दाबी गरे ।

स्थानीयबासी सजग नभएसम्म उत्खनन नियन्त्रण गर्न कठिनाई हुने उनको भनाइ छ । उत्खननले गर्दा माटोको सतह तल झरेका कारण जग कमजोर भएर जुनसुकै बेला पुल क्षतिग्रस्त हुने सम्भावना बढेर गएको छ भने विराटनगरतर्फ उत्खनन् गर्ने गिरोहले खोलाको बहाव नै परिवर्तन गरी उत्खनन गरेर भरौट बेच्दै आएका छन ।