सीसीटिभी तत्काल मर्मत गर्न केन्द्रीय सदस्यको माग


हेटौंडा, (नेस) ।

हेटौंडा बजार क्षेत्रमा चोरीको क्रम बढेपछि व्यबसायीका एक केन्द्रीय नेताले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौंडा बजार क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढेको भन्दै हेटौंडामा पत्रकार सम्मेलन गरी बजार क्षेत्रका सीसीटिभी समयमा मर्मत नहुँदा चोर पहिचान गर्न समस्या भएको भन्दै यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभएको हो ।

सोमबार पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य न्यौपानेले सीसीटिभी जडानपछि हेटौंडा मुख्य बजार क्षेत्रमा चोरीका घटनामा कमी आए पनि बिग्रिएका सीसीटिभी मर्मत हुन नसक्दा चोरी बढेको बताउनुभयो । उहाँले व्यबसायीलाई ढुक्क भएर व्यबसाय गर्ने वातावरण निर्माणका लागि स्थानीय सरकारसँग माग गर्नुभयो । उहाँले बिग्रिएका सीसीटिभी तत्काल मर्मत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

हेटौंडाको कान्तिराजपथ र पारिजातपथको कर्नरमा रहेको स्वस्तिक मोबाइल पसलमा चोरी भयो । आइतबार राति सटर फोरेर चोरी भएको हो । चोरी भएको सोमबार विहानमात्र थाहा भएको छ । पसलबाट केकति सामान चोरी भयो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ प्रहरीले जनाएको छ । चोरी गर्नेको पहिचान खुलेको छैन । यदि यक्त क्षेत्रमा जडित सीसीटिभीले काम गरेको भए अभियुक्त पहिचानमा सहजता हुने प्रहरीको भनाइ छ ।

हेटौंडा बजारमा ठाउँठाउँमा सीसीटिभी जडान गरिएका छन् तर चालु छैनन् । सम्भावित आपराधिक घटना र सुरक्षालाई मध्यनजर गर्दै मुख्य बजारमा लगाइएका सीसीटिभी यतिखेर नाममात्रका छन् । हाल चालु अबस्थामा निकै कम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सम्बन्धित निकायको चासो नजाँदा सुरक्षा चुनौती बढिरहेको छ ।

२०७० सालमा हेटौंडामा चरणचरण गरेर ३८ वटा सीसीटिभी जडान भएका हुन् । हाल तीमध्ये तीन वटामात्र सञ्चालनमा छन् । त्यसले पनि खासै काम गरेका छैनन् । राम्ररी चलेका छैनन् । सीसीटिभीको मद्धतमा पछिल्ला धेरै घटनाका दोषी पत्ता लागेका छन् ।

भुकम्प तथा वर्षाका कारण बिग्रिएका सीसीटिभी थन्किएका छन् । मकवानपुर जिल्लामा ७९ को संख्यामा सीसीटिभी जडान गरिएका छन् । अधिकांश सीसीटिभीले काम नगर्दा आपराधिक घटनामा संलग्नहरु पत्ता लगाउन समस्या हुने प्रहरीले बताएको छ ।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सीसीटिभी नहुनु बिडम्बना भएको प्रहरीको गुनासो छ । सुरक्षाको हिसाबले हेटौंडाको मुख्य चोकमा सीसीटिभी आवश्यक रहेकोमा प्रहरीको जोड छ । सडकमा घटेका घटना तथा चोरीका घटनामा संलग्न रहेकाहरु प्रहरीले पक्राउ गर्न सकेको छैन ।

सीसीटिभी सुसञ्चालनका लागि कुनै निकायले हालसम्म बजेट उपलब्ध गराएका छैनन् । मर्मतमा न स्थानीय सरकारले ध्यान दिएको छ न त अन्य निकायले ।