विप्लव समूहद्वारा ठाउँ–ठाउँमा विस्फोट

0
Shares

काभ्रे, (नेस)। विप्लव समूहद्वारा जिल्लाको विकट गाउँपालिका बूढाखानीका विभिन्न स्थानमा विस्फोट गराएको छ। विद्यालय, स्वास्थ्य चौकी, सडक र सार्वजनिकस्थलहरूमा विस्फोट गराएको स्थानीयले बताएका छन्। विभिन्न समयमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै घोषणा गरिएको आन्दोलन सफल बनाउन विप्लव समूहले जिल्लाका विभिन्न स्थानमा विस्फोट गराएको हो।

जिल्लाको महाभारत गाउँपालिकाको साविक बूढाखानी गाविसका विभिन्न स्थानमा सिलिन्डर बम पड्काएको स्थानीयले जानकारी दिएका छन्। बम विस्फोटका बारेमा स्थानीयले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरीको टोली घटनास्थल पठाएको एसपी जयराज सापकोटाले जानकारी दिनुभयो।

‘बूढाखानी डाँडाको लेकमा पड्किएको आवाज सुनेको भन्ने स्थानीयको भनाइअनुसार प्रहरी परिचालन गरिएको छ’, एसपी सापकोटाले भन्नुभयो– ‘खोजबिनका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।’स्थानीयले बूढाखानीको साल्मे हेल्थपोस्ट, ठाकुरस्थान प्राविको विद्यालय नजिकै विस्फोट गराएको जानकारी दिएका छन्।

त्यस्तै माटे र सिपाली जाने बाटो र ब्रम्हटारमा पनि पड्किएको आवाज आएको सुनेको स्थानीयले बताए। स्थानीयले बम पड्किएको आवाज सुनेलगत्तै घटनास्थलमा पुग्दा सिलिन्डरमा रेशमको तार जोडेर डडेको अवस्थामा फेला पारेका थिए भने जंगलमा विप्लव समूहका कार्यकर्ता बसेर आगो बालेको फेला पारेका थिए।

यसअघि विप्लव समूहका कार्यकर्ताले जिल्लाका विभिन्न स्थानमा चन्दा आतंक मच्चाएका थिए। सहकारी, विद्यालय, होटल, यातायात क्षेत्रका साथै व्यवसायी र जनप्रतिनिधिहरूलाई चन्दा माग्दै आतंक फैलाएका हुन्।